काठमाडौं। मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको घमासान युद्धले विश्वभर पेट्रोलियम अभावको संकेत देखिएको भने कच्चा तेलकाे मूल्य बढेकाे छ।
विश्वको महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने तेल र ग्यास आपूर्तिमा अवरोध आउने डरले विश्व तेल बजारको मूल्यले तीन वर्षयताकै रेकर्ड ब्रेक गरेकाे हाे। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०२२ यता पहिलो पटक प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको छ।
इरानमाथिको पछिल्लो हवाई आक्रमण र तेल डिपोलाई निशाना बनाइएपछि विश्वभर ऊर्जा संकटको त्रास बढिरहेका बेला कच्चा तेल मूल्य रेकर्ड ब्रेकमा वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
इरानले दैनिक करिब १६ लाख ब्यारेल तेल निर्यात गर्ने गर्छ, जसको ठूलो हिस्सा चीनले खरिद गर्छ ।
आज बिहान एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुडको मूल्य १५.५ प्रतिशतले बढेर प्रतिब्यारल १०७.१६ डलर पुगेको छ। नाइमेक्स लाइट स्वीट क्रुडको मूल्य पनि १७ प्रतिशतभन्दा बढीले वृद्धि भई १०६.७७ डलर पुगेको छ।
यो साता कच्चा तेलको मूल्य १०० डलर पुग्ने अनुमान गरे पनि एसियाली ट्रेडिङ सुरु भएको केही मिनेटमै मूल्यमा अप्रत्याशित वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। इरान र वरपरका क्षेत्रमा ऊर्जा पूर्वाधार ध्वस्त पारिएका छन्।

इरान पेट्रोलियम उत्पादक देश पनि हो। विश्वको महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने तेल र ग्यास आपूर्तिमा निरन्तर अवरोध भए तेलको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्दै प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको अलजजिराले जनाएको छ।
इन्धनमा भएको मूल्यवृद्धिको प्रत्यक्ष असर उपभोक्ताको चुलोचौकामै पुग्नेछ। हवाई यात्रा महँगो बनाउनेछ भने उत्पादन लागतसमेत बढाउनेछ।
इरानमा सर्वोच्च नेता अली खामेनीको उत्तराधिकारीका रूपमा छोरा मोजताबा खामेनीलाई चयन गरिएसँगै इजरायल र अमेरिकाले उनको नियुक्तिलाई अमान्य घोषित गर्दै मृत्युका लागि तयार हुन चेतावनी दिएका छन्।
तेलको मूल्य वृद्धिको नकारात्मक असर सेयर बजारमा पनि देखिएको छ। सोमबार एसिया–प्रशान्त क्षेत्रका सेयर बजारमा ठूलो गिरावट आएको छ। समाचार तयार पार्दासम्म जापानको निक्केई २२५ इन्चडेक्स ५ प्रतिशतभन्दा बढीले घटेको छ।–एजेन्सी