काठमाडौं। इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेको पाँचौं दिनसम्म मध्यपूर्वको द्वन्द्वले छिमेकी देशहरु पनि पिल्सिएका छन्। आक्रमणसँगै मध्यपूर्वमा रहेका अमेरिकी सैनिक बेसक्याम्प इरानको टार्गेटमा परेका छन् भने इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलमार्ग ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको छ।

इरान युद्धकै कारण हालसम्म १००० बढीको मृत्यु भइसकेको छ। अमेरिका र इजरायल आक्रमणपछि प्रत्याक्रमणमा उत्रिएको इरानले छिमेकी साउदी, युएई, कुवेत, कतार, ओमन, बहराइनलगायत देशमा क्षेप्यास्त्र, ड्रोन आक्रमण सुरु गरेपछि द्वन्द्व फैलिएको देखिएको हो।
इरानको दाबीसँगै विश्वभर आयात/निर्यातको प्रमुख जलमार्ग मानिने होर्मुजबाट हुने आपूर्ति शृंखला हाल तोडिएको छ। यसले गर्दा विशेषगरी एसियाली मुलुकमा इन्धन संकट देखिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। छिमेकी भारतले सोही समुद्री मार्ग हुँदै करिब ६० प्रतिशत इन्धन आयात गर्दै आएको समय लडाइँका कारण आपूर्ति शृंखला तोडिँदा नेपालसमेत त्यसबाट प्रभावित हुने निश्चित छ।
मध्यपूर्व युद्धको प्रभाव विश्व बजारमा समेत देखिएको छ। आज एसियाली सेयर बजारमा तीव्र गिरावट आएको छ। मध्यपूर्वमा बढ्दो तनाव र तेलको मूल्यमा भएको वृद्धिसँगै बुधबार भारतीय सेयर बजारमा सुरुआती कारोबारमा तीव्र गिरावट आएको हो।
बीएसई सेन्सेक्स १,७५८.२२ अंक वा २.१९ प्रतिशतले घटेर ७८,४८०.६३ मा पुगेको छ। सोही समयमा, एनएसई निफ्टी ५३०.८५ अंक अर्थात् २.१३ प्रतिशतले घटेर २४,३३४.८५ मा पुगेको छ।
इरान युद्धकै कारण हालसम्म १००० बढीको मृत्यु भइसकेको छ। अमेरिका र इजरायल आक्रमणपछि प्रत्याक्रमणमा उत्रिएको इरानले छिमेकी साउदी, युएई, कुवेत, कतार, ओमन, बहराइनलगायत देशमा क्षेप्यास्त्र, ड्रोन आक्रमण सुरु गरेपछि द्वन्द्व फैलिएको देखिएको हो।
लार्सन एन्ड टुब्रो, टाटा स्टील, इन्टरग्लोब एभिएसन, अल्ट्राटेक सिमेन्ट, अदानी पोट्र्स र महिन्द्रा एन्ड महिन्द्राको सेयर सबैभन्दा बढी घटेका छन्। सियोलको सेयर सूचक १२ प्रतिशतभन्दा बढीले घटेको छ। कच्चा तेलको मूल्य उकालो लागेको छ।
इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ, जसले क्षेत्रीय तनाव थप चर्किएको संकेत दिएको छ।इरानको रिभोलुसनरी गाड्र्सले होर्मुज हुँदै आवतजावत गर्ने कुनै पनि जहाज मिसाइल वा ड्रोन आक्रमणको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ।
होर्मुज जलमार्ग विश्व तेल तथा ग्यास आपूर्तिका लागि अत्यन्त संवेदनशील समुद्री मार्ग मानिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेना तेल ट्यांकरलाई एस्कर्ट गर्न तयार रहेको बताएका छन्। गाड्र्सले अमेरिका र इजरायली लक्ष्यमा ४० भन्दा बढी मिसाइल प्रहार गरिएको दाबी पनि गरेको छ।
युद्धको पृष्ठभूमिमा इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको तीनदिने राजकीय अन्त्येष्टि बुधबार साँझदेखि सुरु हुने जनाएको छ। खामेनी शनिबार अमेरिका–इजरायल आक्रमणमा मारिएको इरानको दाबी छ। त्यसपछि द्वन्द्व तीव्र बनेको हो। इजरायलका रक्षामन्त्रीले सम्भावित उत्तराधिकारीसमेत ‘हत्याको लक्ष्य’ बन्न सक्ने चेतावनी दिएका छन्।
बुधबार बिहान इरानबाट प्रक्षेपित क्षेप्यास्त्रले जेरुसेलम र तेल अभिवसहित इजरायलका विभिन्न क्षेत्रमा हवाई आक्रमणको साइरन बजाएको थियो। इजरायली सेनाले खतरा निष्क्रिय पार्न काम गरिरहेको जनाएको छ।
मध्यपूर्व युद्धको प्रभाव विश्व बजारमा समेत देखिएको छ। आज एसियाली सेयर बजारमा तीव्र गिरावट आएको छ। मध्यपूर्वमा बढ्दो तनाव र तेलको मूल्यमा भएको वृद्धिसँगै बुधबार भारतीय सेयर बजारमा सुरुआती कारोबारमा तीव्र गिरावट आएको हो।
यसैबीच श्रीलंकाले आफ्नो क्षेत्रीय जलक्षेत्र बाहिर १८० चालक दलसहितको एक इरानी फ्रिगेट डुबेको जनाएको छ। श्रीलंकाली विदेशमन्त्रीले आइरिस डेनामा सवार ३० इरानी नाविकको उद्धारका लागि जहाज र विमान पठाइएको जानकारी दिए।
मध्यपूर्वमा अमेरिकी सैन्य बलको नेतृत्व गरिरहेका एडमिरल ब्राड कुपरले हालसम्म इरानमा करिब दुई हजार लक्ष्यमा प्रहार गरिएको बताए। लेबनानको राजधानी बेरुतमा इजरायल र हिजबुल्लाहबीच आक्रमण र रकेट प्रहार आदानप्रदान हुँदा विस्फोटका आवाज सुनिएको एएफपीका संवाददाताले जनाएका छन्।
साउदी अरेबियाले राजधानी रियादको दक्षिण क्षेत्रमा दुईवटा क्रुज मिसाइल र ९ ड्रोन रोकेको जनाएको छ। इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एक ड्रोन खसालिएको सुरक्षा स्रोतले जानकारी दिएको छ। कतारले रिभोलुसनरी गाड्र्ससँग सम्बन्धित दुई जासुसी कक्ष ध्वस्त पारेको र १० जना संदिग्धलाई पक्राउ गरिएको जनाएको छ।
इजरायली सेनाले इरानमाथि ‘व्यापक हमला’ सुरु गरिएको बताउँदै तेहरानको सुरक्षा कमान्ड केन्द्रसहित दर्जनौँ लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ। दुबईस्थित अमेरिकी वाणिज्य दूतावासमा ड्रोन आक्रमणपछि आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्।
अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबिया र ओमानमा रहेका गैर–आपतकालीन कर्मचारी तथा परिवारलाई सुरक्षाको कारण देखाउँदै प्रस्थान गर्न अनुमति दिएको छ। साथै जोर्डन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सबाट अमेरिकी नागरिकलाई बाहिर निकाल्न चार्टर उडानको व्यवस्था गरिएको जनाएको छ।
मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ। देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयातकर्ता पेट्रोनेट एलएनजीले केही अपरेसन अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । यसले विश्वकै सर्वाधिक जनसंख््या भएको राष्ट्रमा ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता बढाएको छ।
कम्पनीले मङ्गलबार राति स्टक एक्सचेन्जमा जारी गरेको सूचनाअनुसार होर्मुज जलडमरूमध्य हुँदै कतार इनर्जीको लोडिङ पोर्ट रास लाफानसम्म जहाजहरू सुरक्षित रूपमा पुग्न नसक्ने अवस्था सिर्जना भएको छ। कतार इनर्जीले यसै साता एलएनजी उत्पादन स्थगित गरेको घोषणा गरिसकेको छ र भारतीय बजारका लागि प्रमुख आपूर्तिकर्ता मानिन्छ।
यही पृष्ठभूमिमा पेट्रोनेट एलएनजीले आफ्ना तीन ट्यांकर—‘दिशा’, ‘राही’ र ‘असीम’—सम्बन्धमा कतार इनर्जीलाई ‘फोर्स मेज्युअर’ नोटिस पठाएको जनाएको छ। कम्पनीले कतार इनर्जीबाट पनि यस्तै नोटिस प्राप्त भएको जानकारी दिएको छ । साथै, गेल (इन्डिया), इन्डियन आयल कर्पोरेसन र भारत पेट्रोलियम कर्पोरेसनजस्ता आफ्ना घरेलु ग्राहकलाई पनि ‘फोर्स मेज्युअर’ सूचित गरिएको छ।
कम्पनीले सम्भावित प्रभावको परिमाण अहिले नै आकलन गर्न नसकिने जनाएको छ। तर, स्थानीय सञ्चारमाध्यमका अनुसार केही घरेलु ग्यास आपूर्तिकर्ताले औद्योगिक ग्राहकलाई आपूर्तिमा सामान्य कटौती हुन सक्ने सङ्केत गरिसकेका छन्।
भारत आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा तेल र ग्यास आयातमार्फत पूरा गर्छ। यही कारण मङ्गलबार सरकारले युद्ध लम्बिँदै गए अर्थतन्त्रमा ‘गम्भीर परिणाम’ आउन सक्ने चेतावनी दिएको थियो । यद्यपि पेट्रोलियम मन्त्रालयले देशको मौज्दात ‘सन्तोषजनक’ रहेको बताउँदै आवश्यक परे चरणबद्ध उपाय अपनाउन सकिने स्पष्ट पारेको छ।
हिन्दु दैनिकले स्रोत उद्धृत गर्दै भारतसँग करिब २५ दिनका लागि कच्चा तेलको भण्डार र आगामी दुई–तीन साताका लागि एलएनजी आपूर्ति रहेको जनाएको छ। तर, विश्लेषकका अनुसार कच्चा तेलको मूल्य वृद्धि दक्षिण एसियाली अर्थतन्त्रका लागि चुनौतीपूर्ण बन्न सक्छ।
फिच सोलुसन्सको इकाइ बिएमआईका विश्लेषकहरूले श्रीलङ्काले आफ्नो विद्यमान बाह्य वित्तीय दबाबका कारण कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो असर झेल्नुपर्ने टिप्पणी गरेका छन्। भारतले पनि उच्च कच्चा तेल आयात निर्भरता भएकाले थप आर्थिक दबाब सामना गर्नुपर्ने चेतावनी उनीहरूले दिएका छन्। यसरी मध्यपूर्वको अस्थिरताले ऊर्जा बजारमार्फत दक्षिण एसियाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न थालेको सङ्केत देखिएको छ।–एजेन्सीबाट साभार