चितवन।फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र एमाले नेतासहित ५७ जनाको जमानत जफत भएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो।
जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो। कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो। उनका अनुसार क्षेत्र १ मा १८ जना, क्षेत्र २ र ३ मा २३–२३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका थिए।
क्षेत्र १ मा रास्वपा, नेपाली कांग्रेस र एमालेका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको छ । सो क्षेत्रमा ९६ हजार १५४ मत खसेको थियो। ९१ हजार ८९९ मत सदर भएको थियो।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको उहाँले जानकारी दिए। उनका अनुसार सो क्षेत्रमा ८७ हजार २२१ मत खसेको थियो। यसमा ८४ हजार २३२ मत सदर भएको थियो।
यस्तै, क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ। सो क्षेत्रमा एक लाख ५३ मत खसेको थियो। जिल्लामा दुई लाख ८३ हजार ४२८ मत खसेको उनले बताए।
जिल्लामा समानुपातिकतर्फको मतगणनासमेत अन्तिम चरणमा पुगेको छ। चितवन २ र ३ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ भने क्षेत्र १ को अन्तिम अवस्थामा पुगेको सूचना अधिकारी श्रेष्ठले जनाए।