काठमाडौं। राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्न अस्थायी १० प्रतिशत विश्वव्यापी आयात शुल्कको अवधि यसै साता समाप्त हुन लागेका बेला अमेरिकाले दर्जनौँ व्यापार साझेदार मुलुकलाई असर गर्ने नयाँ शुल्क घोषणा गर्ने तयारी गरेको छ। अमेरिकी प्रशासनले जबर्जस्ती श्रमविरुद्ध प्रभावकारी कदम नचालेको आरोप लगाउँदै करिब ६० व्यापारिक साझेदारमाथि नयाँ कर लगाउने योजना अघि बढाएको हो।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्कसम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने संकेत गर्दै समयसीमा भने खुलाएनन्। उनका अनुसार जबर्जस्ती श्रमसँग सम्बन्धित विषयमा अमेरिकी व्यापार नीतिअनुसार थप कदम चालिने छ।
सर्वोच्च अदालतले यस वर्ष ट्रम्प प्रशासनको शुल्क व्यवस्थाको एक भाग खारेज गरेपछि फेब्रुअरीदेखि लागू गरिएको १० प्रतिशत अस्थायी विश्वव्यापी आयात शुल्क शुक्रबारबाट समाप्त हुँदै छ। विश्लेषकका अनुसार त्यसको स्थानमा १० देखि १२ दशमलव पाँच प्रतिशतसम्मको नयाँ शुल्क लागू हुन सक्छ।
नयाँ व्यवस्थाअन्तर्गत क्यानाडा, युरोपेली संघ (इयु), मेक्सिको, ताइवान र बेलायतबाट हुने अमेरिकी आयातमा १० प्रतिशत शुल्क कायम रहने अनुमान गरिएको छ। चीन, भारत, जापानलगायत ४० भन्दा बढी प्रमुख अर्थतन्त्रबाट आयात हुने वस्तुमा १२ दशमलव पाँच प्रतिशतसम्म शुल्क लाग्न सक्ने बताइएको छ। युरोपेली संघ (इयु)ले भने यस्तो शुल्कलाई अन्यायपूर्ण हुने बताउँदै असन्तुष्टि जनाइसकेको छ।
ट्रम्प प्रशासनले पछिल्ला दिनमा व्यापारिक दबाबलाई थप तीव्र बनाएको छ। गत साता ब्राजिलका केही वस्तुमा २५ प्रतिशत नयाँ शुल्क घोषणा गरिएको थियो भने क्यानाडाका धेरै उत्पादनमा ५० प्रतिशत कर ३० दिनपछि लागू हुने निर्णय सार्वजनिक गरिएको छ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सबै विकल्प खुला राखिएको बताउँदै सम्भावित व्यापार सम्झौताका लागि ट्रम्पसँग आगामी साताहरूमा वार्ता तीव्र बनाउने सहमति भएको जानकारी दिएका छन्।
यसैबीच, राष्ट्रपति ट्रम्पले आयातित जेनेरिक औषधिमा क्षेत्रगत नयाँ शुल्क घोषणा गरेको छ। उनका अनुसार सन् २०२८ अगस्टदेखि यस्ता औषधिमा १०० प्रतिशत शुल्क लाग्ने छ र यसलाई सन् २०२९ मा २०० प्रतिशतसम्म पुर्याइने योजना छ।
उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए)को समीक्षा भइरहेका बेला अमेरिका र मेक्सिकोबीचको वार्ता तीव्र बने पनि क्यानाडासँगको छलफल अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। व्यापार प्रतिनिधि ग्रियर यसै साता सम्झौतासम्बन्धी छलफलका लागि मेक्सिको जाने कार्यक्रम छ।
व्यापार कानूनका जानकारहरूले सन् १९३० को ट्यारिफ ऐनको धारा ३३८ प्रयोग गरी क्यानाडामाथि दबाब बढाउने अमेरिकी रणनीतिले दुई देशबीच थप तनाव उत्पन्न गर्न सक्ने बताएका छन्। उनीहरूका अनुसार यसले दुवै मुलुकबीच प्रतिशोधात्मक व्यापारिक कदमको चक्र सुरु हुने जोखिम बढाएको छ।
यता, ब्राजिलका वस्तुमाथि २५ प्रतिशत अमेरिकी शुल्क लागू गर्ने निर्णयले पनि नयाँ विवाद सिर्जना गरेको छ। ब्राजिलको आगामी राष्ट्रपतीय निर्वाचनअघि लागू हुन लागेको उक्त शुल्कबाट गाईको मासु, कफी र केही विमानका पुर्जाजस्ता सीमित वस्तु भने छुटमा रहने छन्।
तर, ब्राजिलस्थित अमेरिकन चेम्बर अफ कमर्सले नयाँ व्यवस्थाले ब्राजिललाई अमेरिकी बजार पहुँचका हिसाबले सबैभन्दा बढी प्रतिबन्ध सामना गर्ने मुलुकमध्ये एक बनाउने र ११ अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात प्रभावित हुन सक्ने चेतावनी दिएको छ।