काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मत गणना सकिएको छ। जसअनुसार एक करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको देखिएको छ। यस आधारमा ११० समानुपातिक सिटको बाँडफाँट हुनेछ।
समानुपातिक निर्वाचन प्रणालीअनुसार सिट बाँडफाँट गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा विधि निर्धारण गरिएको छ। जसमा सबै दलले प्राप्त गरेको मतलाई जोडेर कुल सदर मत निकालिन्छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत ल्याउनेलाई समानुपातिक सिट बाँडफाँट नगर्ने गरी थ्रेसहोल्ड निर्धारण गरेको छ।
समानुपातिकतर्फको अन्तिम मत परिणामका आधारमा ६ वटा दलले ३ प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेको छ। जसअनुसार तीन प्रतिशत मत कटाउने ६ दलले पाएको कुल मत ९८ लाख ५१ हजार ५६६ रहेको छ।
अब प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले व्यवस्था गरेअनुसार ‘परिणाम विभाजक सूत्र’ प्रयोग गरेर प्रत्येक दलले प्राप्त गरेको सिट बाँडफाँट गरिन्छ। पहिलो चरणमा सम्बन्धित दलले पाएको मतलाई भाजकले भाग गरेर पहिलो चरणको सिट संख्या निर्धारण गरिन्छ।
जसअनुसार रास्वपाले पाएको ५१,३९,२३५ मतमार्फत ५७.३६ आउँछ। यस अनुसार पहिलो चरणमा रास्वपाले ५७ सिट प्राप्त गर्छ। त्यसैगरी, कांग्रेसले पाएको १७,४९,५८३ मतअनुसार १९ सिट प्राप्त गरेको छ।
एमालेले पाएको १४,४८,८५४ मतअनुसार १६ सिट प्राप्त गरेको छ। नेकपाले पाएको ८,०५,७७३ मतअनुसार ८ सिट प्राप्त गरेको छ। श्रम संस्कृति पार्टीको ३,७८,६४९ मतअनुसार ४ सिट प्राप्त गरेको छ। राप्रपाको ३,२९,४७२ मतलाई भाजकले भाग गरेर हेर्दा ३ सिट प्राप्त गरेको छ।