काठमाडौं। गोरखामा गएराति भारतीय तीर्थयात्री सवार गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ज्यान गुमाउने सातै जना भारतीय नागरिक हुन्।
उनीहरू सबै जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा भारतीय नागरिक ५८ वर्षीय मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षीया मिनाक्षी, ५३ वर्षीया सिवगामी, ५७ वर्षीय बिजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी छन्।
शनिबार साँझ साँढे सातबजेतिर मनकामना दर्शन गरेर फर्केका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस गोरखाको सहिद लखन गाउँपालिका ३ कान्टारमा सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो।
माइक्रोमा १६ जना सवार रहेको खुलेको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृतक ७ जनाको शव पोस्ट मार्टमको लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ। दुर्घटनामा चालक र सहचालक पनि गम्भीर घाइते भएका छन्।
यी हुन् ९ घाइते
१, चालकः जिल्ला लमजुङ सुन्दरबजार न.पा. १ बस्ने वर्ष ४६ को पुष्प मल्ल ठकुरी।
२, सहचालकः लमजुङ बेशीशहर न.पा. ३ बस्ने वर्ष २९ को सन्तोष गुरुङ।
३, भारतका वर्ष अन्दाजी ६२ की सोरनम।
४, भारतका वर्ष अन्दाजी ६५ का मंगदा जलम।
५, भारतका वर्ष अन्दाजी ७५ की सुभाद्रा।
६, भारतका वर्ष ६५ की मयाल।
७, भारतका बस्ने वर्ष ७३ की सरोजा।
८, भारतका वर्ष ६५ की भाग्यलक्ष्मी।
९, भारतका वर्ष ३४ की मिनाक्षी।