काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले निजी क्षेत्र अर्थतन्त्रको इन्जिन रहेको बताएका छन्। विश्व उपभोक्त अधिकार दिवसको आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्र अर्थतन्त्रको इन्जिन रहेको भन्दै सहकार्य गर्दै सार्वजनिक निजी साझेदारी (एएए) मोडलमार्फत रणनीतिक स्थानमा भण्डारण केन्द्र आवश्यक रहेको बताए।
‘सरकार स्वच्छ व्यवसाय गर्नेहरूको साथमा उभिने छ। तर कालोबजारी, कृत्रिम अभाव र सिन्डिकेटजस्ता विकृतिहरू कुनै पनि हालतमा सह्य हुने छैनन्,’ उनले भने। स्वच्छ तथा गुणस्तर सेवा दिने व्यापारीलाई सरकारले सहयोगी गर्ने, तर उपभोक्तको अधिकारविपरीत कार्य गर्ने व्यापारीलाई कारबाही गर्ने तर्क राखे।
मन्त्री सिन्हाले उपभोक्ताको हित संरक्षणका लागि बनेका कानुन अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको बताएका छन्। कानुन निर्माण मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार सक्रिय रूपमा लागिपर्ने बताए।
प्रविधिमैत्री युगमा भ्रामक विज्ञापनबाट प्रभावित नभई वस्तुको गुणस्तर, उत्पादन मिति, उपभोग मिति र मूल्य जाँच गरी सचेत उपभोक्ता बन्नु अत्यन्त आवश्यक छ। बजार सुधारमा उपभोक्ताको स्वयंको भूमिका सबैभन्दा निर्णायक हुन्छ। सचेत उपभोक्ता नै बजारको सबैभन्दा ठूलो अनुगमनकर्ता रहेको बताए।
उनका अनुसार, उत्पादकले नाफाको लोभमा गुणस्तरमा सम्झौता गर्नु अपराध हो। वितरणकर्ता र भण्डारणकर्ताले उचित तापक्रम र सरसफाइमा ध्यान नदिँदा गुणस्तरीय वस्तु पनि खराब हुन सक्छ। त्यसकरण ‘खेतदेखि भान्सासम्म’को सम्पूर्ण आपूर्ति शृंखला पारदर्शी र सुरक्षित बनाउनु आवश्यक रहेको मन्त्री सिन्हाले औँल्याए।
बजारलाई स्वच्छ र व्यवस्थित बनाउन सरकार र निजी क्षेत्र दुवैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उपभोक्ताको हित संरक्षणका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा मन्त्री सिन्हाले जोड दिए। आज ‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ भन्ने नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस २०८२ मनाइएको छ।