काठमाडौं। हिमालपारीको जिल्लाको रुपमा परिचित मनाङलाई विश्व प्रतिष्ठित पत्रिका टाइमले पुनः परिचित गरेको छ। टाइमले https://time.com/collection/worlds-greatest-places/2026/ सन् २०२६ का लागि सार्वजनिक गरेको विश्वका उत्कृष्ट स्थानको सूचीमा माउन्टेन लजअन्तर्गतको मनाङस्थित मनाङ लज समावेश भएको छ। उक्त सूचीमा विश्वभर भ्रमण गर्न र बस्न योग्य एक सय असाधारण गन्तव्यहरूलाई समेटिएको छ।
माउन्टेन लज अफ नेपालमध्ये नेपाललाई बसोबासका लागि विश्वका उत्कृष्ट स्थानमध्ये एक मनाङ लजलाई मान्यता दिइएको हो। शेर्पा हस्पिटालिटी ग्रुपद्वारा व्यवस्थापन गरिएको यस लजले अन्नपूर्ण क्षेत्रको उत्तरी भेगमा यात्रुहरूले हिमाली अनुभव गर्ने तरिकालाई नयाँ ढंगले प्रस्तुत गर्ने पहलका रुपमा आफ्नो पहिचान बनाएको छ। त्यस क्षेत्रका पाहुनाहरूले हिमाली दृश्य, दिनभरिका पदयात्रा र स्थानीय सांस्कृतिक अनुभवलाई आरामदायी वातावरणमा अनुभव गर्न सक्ने सुविधा पाउँछन्।
समुद्र सतहबाट करिब तीन हजार पाँच सय मिटर उचाईमा रहेको मनाङको यस लजले बसोबासको फरक शैली प्रस्तुत गरेको छ। सामान्यतया पदयात्रा गर्दा यात्रुहरू हरेक रात फरक फरक बासस्थानमा सर्ने चलन हुन्छ। तर, यहाँ आउने पाहुनाहरू एउटै स्थानमा बसोबास गर्दै दैनिक रुपमा आसपासका हिमाली क्षेत्र, गाउँ र सांस्कृतिक स्थलहरूको अन्वेषण गर्न सक्छन्। यसरी एउटै स्थानलाई आधार बनाई विभिन्न दिशामा पदयात्रा गर्ने अवधारणालाई विशेष रुपमा अपनाइएको छ।
दिनभरि हिमाली पदमार्गमा यात्रा गरेपछि पाहुनाहरू पुनः आरामदायी बासस्थानमा फर्किन्छन्। यहाँ आरामदायी ओछ्यान, स्नानको व्यवस्था, तातो पानी तथा पौष्टिक भोजन उपलब्ध हुने भएकाले हिमाली यात्राको कठिनाइ कम हुने बताइएको छ। यसले उच्च उचाईको पदयात्रा गर्न चाहने तर आरामदायी बसोबासमा सम्झौता गर्न नचाहने यात्रुहरूलाई विशेष रुपमा आकर्षित गरेको छ।

मनाङ उपत्यका मर्स्याङ्दी नदीको माथिल्लो भेगमा अवस्थित छ। अग्ला हिमाल, हिमनदीय ताल, प्राचीन गुम्बा तथा परम्परागत गाउँहरूले घेरिएको यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। याक पालन, परम्परागत हिमाली जीवनशैली र बौद्ध सांस्कृतिक परम्पराले यस उपत्यकालाई विशिष्ट बनाएको छ। यही कारणले यो स्थान सामान्य पदयात्रा मार्गको भीडभन्दा फरक र अनौठो संसारजस्तै अनुभव हुने बताइन्छ।
प्राकृतिक सौन्दर्य, गहिरो बौद्ध आध्यात्मिक परम्परा र जीवित हिमाली संस्कृतिको संयोजनले मनाङ उपत्यकालाई अन्वेषणका लागि विशेष बनाएको छ। एउटै उपत्यकाभित्र रहेका विभिन्न गाउँ, गुम्बा, छोर्तेन तथा प्रार्थना झण्डाले सजिएका पदमार्गहरूले यात्रुहरूलाई सांस्कृतिक र आध्यात्मिक अनुभव प्रदान गर्छन्। छोटो दूरीमै फरक फरक समुदाय र जीवनशैली देख्न सकिने भएकाले यहाँ आउने पाहुनाहरूले प्रत्येक दिन नयाँ अनुभव प्राप्त गर्न सक्छन्।
काठमाडौंबाट सडक वा हेलिकप्टरमार्फत पुग्न सकिने भएकाले मनाङ क्षेत्र दुर्गम भए पनि सहज पहुँच योग्य मानिन्छ। यस कारणले यहाँ आउने यात्रुहरूले दुर्गम हिमाली वातावरणको अनुभव लिनुका साथै यात्रा व्यवस्थापनको सहजता पनि पाउँछन्। यही संयोजनले यस क्षेत्रलाई हिमाली पर्यटनका लागि आकर्षक गन्तव्य बनाएको छ।
टाइम पत्रिकाले आफ्नो टिप्पणीमा मर्स्याङ्दी नदीको माथिल्लो उपत्यकामा अवस्थित ढुंगाले बनेको चौध कोठे मनाङ लजलाई यस क्षेत्रको पहिलो उच्चस्तरीय आवासका रुपमा उल्लेख गरेको छ। प्राकृतिक वातावरणसँग मेल खाने ढुंगाको संरचनामा निर्माण गरिएको लजले हिमाली वास्तुकलाको सौन्दर्यलाई पनि जोगाएको बताइएको छ।

माउन्टेन लज अफ नेपाल हिमाली क्षेत्रमा रहेका पारिवारिक स्वामित्वका लजहरूको समूह हो। जसले लामो समयदेखि हिमाली पर्यटनमा सेवा प्रदान गर्दै आएको छ। यो समूह ग्रेट हिमालय ट्रेलसँग पनि सम्बन्धित छ। जसले नेपालका हिमाली पदयात्रा मार्गहरूलाई विश्वभर परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
तीन दशकभन्दा बढी समयदेखि माउन्टेन लज अफ नेपालले एभरेस्ट, अन्नपूर्ण र मनाङ क्षेत्रका पदयात्रा मार्गहरूमा आउने यात्रुहरूलाई आवास, मार्गदर्शन र आतिथ्य सेवा उपलब्ध गराउँदै आएको छ। हिमाली वातावरणअनुसारको सरल जीवनशैली र न्यानो आतिथ्य यसको विशेषता मानिन्छ।
हिमाल र हिमाली संस्कृतिको सम्मानलाई आफ्नो कार्यको केन्द्रमा राखेको जनाएको छ। स्थानीय परम्परा, जीवनशैली र आतिथ्य संस्कारलाई जोगाउँदै यात्रुहरूलाई हिमाली अनुभव गराउने प्रयास गरिएको बताइन्छ। शेर्पा संस्कार र हिमाली परम्परालाई सम्मान गर्दै यात्रुहरूलाई आफ्नै साहस र क्षमता पहिचान गर्न प्रेरित गर्ने उद्देश्य पनि संस्थाले राखेको छ।

स्थानीय समुदायसँग सहकार्य गर्दै सञ्चालन हुने यो सेवा प्रणालीले हिमाली गाउँका युवाहरूलाई रोजगारीको अवसर प्रदान गरेको छ। कर्मचारी नियुक्ति, तालिम र सीप विकासमा स्थानीय समुदायलाई प्राथमिकता दिइएको संस्थाले जनाएको छ। यसले हिमाली पर्यटनको आर्थिक लाभ स्थानीय समुदायसम्म पुग्ने वातावरण सिर्जना गरेको मानिन्छ।
विश्वका उत्कृष्ट स्थानहरूको सूचीमा मनाङको यो लज समावेश हुनु नेपालका हिमाली पर्यटन र आतिथ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको कम्पनीको दाबी छ।
