काठमाडौं। हिन्दु कुश हिमालय क्षेत्रका लागि समन्वय, सञ्चार र सहकार्य गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयस्थित हिमालयन युनिभर्सिटी कन्सोर्टियम सचिवालयले चैत ४ र ५ गते यचयुसी स्टेकहोल्डर्स रिट्रिट आयोजना गर्ने भएको छ।
हिमालयन युनिभर्सिटी कन्सोर्टियम सचिवालयको जिम्मेवारी २०८२ मंसिर २४ मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)ले काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेको थियो। रिट्रिटमा ५० बढी विश्वविद्यालयका उपकुलपति, दूतावासका राजदुत, प्राज्ञिक संस्थाका निर्देशकलगायत पदाधिकारीको सहभागिता रहनेछ।
सहभागीले विश्वव्यापी र बहुपक्षीय पद्धति अवलम्बन गरी हिमालयन युनिभर्सिटी कन्सोर्टियमको कार्ययोजना र वित्तीय दिगोपना सुनिश्चित गर्ने काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले बताए। यस प्रकारको उपकुलपतिको उल्लेखनीय सहभागिताको रिट्रिट पहिलो पटक आयोजना हुन लागेको उपकुलपति वाग्लेको भनाइ छ।
कन्सोर्टियमका १२ वटा कार्यक्षेत्र खाद्य–ऊर्जा–पानी, हिउँमण्डल, विपद् जोखिम, परम्परागत र आदिवासी ज्ञान प्रणाली, जलवायु परिवर्तन, कार्बोन तटस्थता, हिमालय कृषि, हरित अर्थतन्त्र र अन्य कार्यक्षेत्र, परिधीय क्षेत्रमा मात्रै सीमित छैनन्। यी कार्यक्षेत्रले यस क्षेत्रलाई आगामी अर्ध शताब्दीसम्मका लागि निर्धारण गर्ने उपकुलपति प्रा.डा.वाग्लेले बताए।
हिमालयन युनिभर्सिटी कन्सोर्टियम विश्वस्थानमध्ये विशिष्ट स्थानमा रहेको छ, जसले विश्व ज्ञान साझेदारीलाई विशिष्ट स्थान दिएको छ।
यस कन्सोर्टियमका सदस्य विश्वविद्यालयलाई १९ राष्ट्रमा मात्रै सीमित नराखी रणनीतिक पद्धतिबाट बौद्धिक विविधताका आधारमा यचयुसीको अभिन्न अंगको रुपमा बढाउँदै जानुपर्ने ईसिमोडका महानिर्देशक डा. पेमा ग्याम्सोले जानकारी दिए।