काठमाडैं। अष्ट्रियन कल्चरल फोरम तथा नयाँ दिल्लीस्थित अष्ट्रियन दूतावासले अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा पुरस्कार प्राप्त चलचित्र मेहरुनीसाको विशेष प्रदर्शन प्रस्तुत गरेका छन्। यसलाई अष्ट्रियन फिल्म निर्देशक सन्दीप कुमारले निर्देशन गरेका हुन्।
अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा,अष्ट्रियन कल्चरल फोरम र नयाँ दिल्लीस्थित अष्ट्रियन दूतावासले भारत, बंगलादेश, भुटान, नेपाल तथा श्रीलंकामा रहेका अष्ट्रियाका मानार्थ वाणिज्य दूतावाससँग सहकार्य गर्दै तथा नेपालस्थित अष्ट्रियाका मानार्थ वाणिज्य दूतावासको समन्वय र नेपाल महिला उद्यमी महासंघ ९एफडब्लूवेन०को सहकार्यमा विशेष प्रदर्शन आयोजना गरेका हुन्।
कार्यक्रम अष्ट्रियन संघीय युरोपेली तथा अन्तर्राष्ट्रिय मामिला मन्त्रालयको महिला अधिकार, समानता तथा सशक्तीकरणप्रतिको प्रतिबद्धतासँग मेल खाने पहल हो। यसले महिला उपलब्धिको सम्मान गर्दै अष्ट्रिया–भारत सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको छ।
नेपालमा उक्त चलचित्रको प्रदर्शन १८ मार्चमा छाया सेन्टरस्थित क्यूएफएक्स सिनेमामा आयोजना गरिएको छ, जहाँ करिब १५० जनाले अवलोकन गरेका थिए।
९० मिनेट लामो यस चलचित्र मेहरुनीसा लखनउमा आधारित एक कथा हो, जसमा ८० वर्षीया एक विधवाले आफ्ना दिवंगत श्रीमानको प्रभावबाट मुक्त भई आफ्नै पहिचान पुनः स्थापित गर्ने प्रयासलाई देखाइएको छ। यस क्रममा उनले गहिरो रूपमा जरा गाडेका पितृसत्तात्मक मान्यताहरूलाई चुनौती दिँदै महिलाका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गर्छिन्।
चलचित्रमा भारतकी चर्चित चरित्र अभिनेत्री फर्रुख जाफरले आफ्नो जीवनको पहिलो मुख्य भूमिका ८८ वर्षको उमेरमा निर्वाह गरेकी छन्। उनको चार दशकभन्दा लामो करियरमा पीप्ली लाइभ, स्वदेस, सुल्तान, सिक्रेट सुपरस्टार र फोटोग्राफ जस्ता चलचित्र समावेश छन्। मेहरुनीसामा उनको भूमिकाले महिलाको संघर्ष र विशेष गरी उमेरदराज अभिनेत्रीहरूले मुख्य भूमिका पाउनुपर्ने चुनौतीलाई प्रभावशाली रूपमा प्रस्तुत गर्दछ।
भियनाका लेखक तथा निर्देशक सन्दीप कुमार आफ्ना चलचित्रहरूमा पहिचान, आप्रवासन, गरिमा र समानताका विषय उठाउनेका लागि परिचित छन्। उनका कृति विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भई अनेक पुरस्कार प्राप्त गरिसकेका छन्।
मेहरुनीसाको प्रिमियर भारतको अन्तर्राष्ट्रिय फिल्म महोत्सव आइफा, गोवामा भएको थियो। त्यसपछि यो चलचित्र अष्ट्रियाको डियागोनाले, कोसोभोको प्रिस्टिना अन्तर्राष्ट्रिय फिल्म महोत्सव, क्यानडाको साउथ एसियन अन्तर्राष्ट्रिय फिल्म महोत्सव भ्यानकुभर, इटालीको अस्टी अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा जर्मनीको इन्डियन फिल्म फेस्टिभल स्टुटगार्टलगायत विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भइसकेको छ, जहाँ यसले उत्कृष्ट अभिनेत्रीलगायतका पुरस्कार प्राप्त गरेको छ।