पोखरा। आभ्या क्लब पोखराको आयोजनामा तथा राष्ट्रिय धाविका नितु तामाङको सहभागितामा आगामी चैत ७ गतेदेखि पोखरामा साप्ताहिक ‘५ किलोमिटर कम्युनिटी फन रन’ कार्यक्रम सुरु हुने भएको छ।
हरेक हप्ता बिहान ७ः०० बजे सञ्चालन हुने उक्त दौड कार्यक्रममार्फत समुदायमा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
क्लबकी रेस डाइरेक्टर तथा स्पोट्र्स कोच तामाङले नियमित व्यायाम र दौडले स्वस्थ जीवनशैली निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनका अनुसार बढ्दो डिजिटल निर्भरता र निष्क्रिय जीवनशैलीका कारण स्वास्थ्य समस्या बढेकाले यस्ता कार्यक्रम आवश्यक भएका हुन्।
‘घरभित्रै बसेर अनावश्यक रूपमा मोबाइल प्रयोग गर्नुको सट्टा बाहिर निस्केर रमाइलो वातावरणमा दौडिनु स्वास्थ्यका लागि लाभदायक हुन्छ,” उनले भनिन्।
कार्यक्रममा सबै उमेर समूहका व्यक्ति सहभागी हुन सक्नेछन्। सहभागीले परिवार, साथीभाइ तथा आफन्तलाई समेत साथमा ल्याउन सक्ने क्लबका प्रबन्ध निर्देशक निरोज लामाले जानकारी दिए।
उनका अनुसार ‘वन रन क्यान चेन्ज युआर डे, बट मेनी रन्स क्यान चेन्ज युआर लाइफ’ सन्देशसहित सुरु हुने यो अभियानले पोखरामा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न थप टेवा पुर्याउनेछ।
सन् २०२२ मा स्थापना भएको आभ्या क्लब पोखरा पोखराको घारीपाटनमा अवस्थित आधुनिक फिटनेस तथा वेलनेस केन्द्र हो।
अन्तर्राष्ट्रिय स्तरका उपकरण, स्पा, योगा, स्विमिङ पुललगायत सुविधा सहित क्लबले शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ। क्लबले सम्पूर्ण खेलप्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई स्वस्थ जीवनतर्फ अघि बढ्न आग्रह गरेको छ।