काठमाडौं। मध्यपूर्व युद्धका कारण विश्वभर इन्धन हाहाकार भइरहेका बेला कच्चा तेलको मूल्य रेकर्ड ब्रेकले महँगिएको छ। इरान र कतारका ग्यास क्षेत्रमा आक्रमण भएपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलर नाघेको हो।
विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रमा भएका हवाई आक्रमण र त्यसपछिको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यले अकास छोएको छ। बिहीबार एसियाली बजार कारोबारको सुरुआतमै ब्रेन्ट क्रुड आयलको मूल्य ५ प्रतिशतले बढेर प्रतिब्यारेल ११२ अमेरिकी डलर पुगेको छ। यस्तै, बेन्ट आयल प्रतिब्यारेल ११५ अमेरिकी डलर पुगेको छ।
क्रुड र बेन्ट आयलको मूल्य रेकर्ड ब्रेकमा बढेपछि इन्धन हाहाकार अझै चुलिने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आज अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी र तामाको मूल्यमा भने गिरावट आएको छ।
इरानी सञ्चार माध्यमका अनुसार इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा हवाई आक्रमण भएको छ। यसको केही घन्टापछि कतारले पनि आफ्नो ‘रास लफान’ औद्योगिक क्षेत्रमा इरानी आक्रमणबाट व्यापक क्षति भएको पुष्टि गरेको छ।
बेलायती ग्यास प्रतिथर्म ६ प्रतिशतले बढेर १४३.५३ पेन्स पुगेको छ। यद्यपि, यो मूल्य यसअघि मार्च महिनामा देखिएको उच्च बिन्दु (११६ डलर) भन्दा भने केही कम हो। विज्ञका अनुसार स्ट्रेट अफ हर्मुजमा उत्पन्न अवरोध नहटेसम्म ऊर्जा बजारमा यो अस्थिरता कायम रहने देखिन्छ।
यसैबीच संयुक्त अरब इमिरेट्सले इरानी आक्रमणपछि आफ्नो हब्सान ग्यास सञ्चालन स्थगित गरेको छ। साउदी, कुवेत, इराक र बहराइन इरानद्वारा निशाना बनाइएका छन्।
दुनियाँकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा इजरायली आक्रमणपछि इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा हमला गरेको छ, जसका कारण कतारलाई ठूलो क्षति पुगेको बताइएको छ।
कतार, इरान र संयुक्त अरब इमिरेट्समा प्राकृतिक ग्यास सुविधामा आक्रमण भएपछि एसियाली सेयर बजारमा तीव्र गिरावट आएको छ। यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा नयाँ उथलपुथल ल्याएको छ।
जापानको बेन्चमार्क निक्केई २२५ र दक्षिण कोरियाको कोस्पी बिहीबार बिहान लगभग ३ प्रतिशतले घटेको छ। आक्रमणले जलमार्ग अवरोध र खाडी क्षेत्रबाट तेल र ग्यास निर्यातमा निरन्तर अवरोध हुँदा त्रसित बजारलाई झनै त्रसित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।-एजेन्सी
