काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट सुरु भएको वर्षा अहिले पूर्वी नेपाल पुगेको छ। जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले अहिले पूर्वी नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जानकारी दिए। अहिले देशभर नै मौसम बदली रहेको अन्य क्षेत्रमा हल्का वर्षा भइरहेकामा नेपालको मध्य क्षेत्रभन्दा पूर्वका विभिन्न जिल्लामा वर्षा भइरहेको उनले बताए।
वर्षामापन केन्द्रमा आज साँझ भएको रेकर्डअनुसार पछिल्लो तीन घण्टामा सिरहामा ३२.२, उदयपुरमा २४.८, मोरङमा २१.८, सिन्धुपाल्चोकमा २०.२, खोटाङमा ११.२ मिलीमिटर वर्षा भएको छ। अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही जिल्लामा हल्कामात्रै वर्षा भएको छ। साँझ उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपात भएको छ। अहिले वर्षा पूर्वकेन्द्रित रहेको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरमा ४६।४ मिलीमिटर वर्षा भएको छ। त्यसपछि काठमाडौँमा ४५.२ र दाङमा ४२.६ मिलीमिटर वर्षा भएको छ। यो भारी वर्षाको नजिक हो। विभागको मौसम पूर्वानुमान महाशाखाले साँझ जारी गरेको बुलेटिनअनुसार आज राति देशभर अधिकांश बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङरअसिनारहुरीबताससहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यस्तै, कोसी, मधेस र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाइएको छ। त्यसैगरी, शनिबार देशभर अधिकांश बादल लाग्ने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जनरचट्याङरअसिनारहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ। शनिबार रातिदेखि भने विस्तारै मौसम खुल्दै जाने जनाइएको छ।