दाङ। घोराही–लमही सडक खण्ड फराकिलो बनाउने काम सुरुआत भएको छ। अहिले मोड र साँघुरो स्थानमा खुला गर्ने काम भइरहे पनि चारलेन सडककै रूपमा विकास भइरहेको हो।
चालू आर्थिक वर्षमै सडक विस्तारको काम सक्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए। यसअघि साँघुरो सडकका कारण धेरै सवारी दुर्घटना हुँदै आएका थिए। अब भने दुर्घटनाको जोखिम बढिरहेको समय सडक विस्तारसँगै मोड सुधारले यातायातका साधन सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ।
लमही–घोराही सडक खण्डका जोखिमपूर्ण मोड कटान गरेर गाडी सञ्चालन हुँदा दुवैतर्फको सडक देखिने सडक विस्तारको काम भइरहेको कार्यालय प्रमुख विष्टले बताए। साँघुरा स्थानमा सडकको चौडाइ बढाउने र बढ्दो सवारी चापलाई व्यवस्थित बनाउँदै आवागमन सहज बनाउने उद्देश्यअनुसार माटो कटिङदेखि काट्न नमिल्ने ठाउँमा पर्खाल निर्माण गरेर सडक बढाउने काम भइरहेको छ।
सडकलाई फराकिलो बनाउनेगरी विस्तारको काम भइरहेको जनाउँदै उनले भने, ‘लमही–घोराही सडकलाई खुला गर्ने गरी सडक विस्तारको काम भइरहेको छ।’
घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्मको करिब १७ किलोमिटर सडक खण्डको साँघुरा स्थानलाई फराकिलो बनाउने काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ।
घोराही–लमही सडक सुधार कार्यक्रमअन्तर्गत विभिन्न मोडमा सुधारदेखि साँघुरो स्थानमा कटिङ र पर्खाल निर्माणको काम भइरहेको छ। सडक सुधारका लागि लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्मको खण्डमा २० करोड १३ लाख ५९ हजारबराबरका तीनवटा ठेक्का सम्झौता गरी साँघुरो सडकलाई खुला बनाउने काम भइरहेको प्रमुख विष्टले बताए।
उनका अनुसार घोराही–लमही सडक खण्डअन्तर्गत कुइरेपानीदेखि मसोटखोलासम्मको सडक खण्ड मुनाल–केवी–सुनील एन्ड विजय जेभी दाङसँग १३ करोड ४६ लाख ६१ हजार र मसोटखोलादेखि अर्जुनखोलासम्मको सडक खण्ड ६ करोड ८० लाख ९० हजारमा सडक विस्तारको काम गर्ने गरी इजी–अलकापुरी जेभीसँग ठेक्का सम्झौता भएको छ।
चालू आर्थिक वर्षमै सडक सुधारको काम सक्ने गरी चौपट्टादेखि अर्जुनखोलासम्मको सडकमा काम भइरहेको उनले बताए।–रासस