काठमाडौं । दोलखामा पहिलो पटक स्वीमिङ पुल सहितको रिसोर्ट सञ्चालनमा आउने भएको छ । करिब ६ करोड लागतमा निर्माण भइरहेको हिमालयन रिसोर्ट एण्ड एग्रो फार्मले दोलखा भित्रने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने सञ्चालिका छिरिङमा शर्पाले बताईन् । उनी भन्छिन् ‘ सुविधासम्पन्न रिसोर्ट नभएकै कारण दोलखा भित्रने पर्यटकहरुको बसाई अवधि कम भएको छ । अब त्यस्तो हुदैन ।’
भिमेश्वर नगरपालिका ७ मकैबारीमा २४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको रिसोर्टमा कालिज फार्म समेत हुनेछ । रिसोर्टमा आउने ग्राहकलाई कालिजको परिकारसँगै अग्र्यानिक खाना खुवाउने यो दोलखाको पहिलो रिसोर्ट हुनेछ ।
शुरुमा रिसोर्टमा १७ वटा डिलक्स रुम रहने छ । बिस्तारै पछि रुमको संख्या थप हुदै जाने उनले जानकारी दिईन् । त्यस्तै बालबालिकाहरुको लागि खेल्ने, रमाइलो गर्ने फनपार्क समेत निर्माण हुने छ । फनपार्क पनि दोलखाको पहिलो हुनेछ ।

धार्मिक पर्यटनका लागी प्रख्यात दोलखामा सुविधासम्पन्न होटलहरु निर्माण भएपनि यो दोस्रो रिसोर्ट छ । तर, स्वीमिङ पुल र फनपार्क सहितको भने पहिलो रिर्साट हो । दोलखामा बिशेष गरि कालिञ्चोक र भिमेश्वर मन्दीर, जिरी, अप्पर तामाकोशीलगायतको दर्शन तथा अवलोकन गर्न बार्षिक हजारौ पर्यटकहरु पुग्ने गर्छन् । तर, सुविधा सम्पन्न होटल तथा रिसोर्टको कमी भएको कारण उनीहरुको बसाई एक दुई दिनभन्दा बढी हुने गरेको छैन ।
केहि उच्चस्तरिय पर्यटकहरुलाई उनीहरुको चाहना अनुसारको सेवा प्रदान गर्ने उद्देश्यले रिर्साट तयार भइरहेको सञ्चालिका शेर्पाको भनाई छ । आगामी दशैसम्म रिसोर्ट सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले जानकार दिईन् । तर, लक डाउनका कारण निर्माण सामग्री ढुवानीमा कठिनाई हुने निर्माण सम्पन्न हुने अवधि केहि धकेलिने उनको अनुमान छ । ‘हामी छिटो भन्दा छिटो रिसोर्ट सञ्चालन गर्न लागिरहेका छौं,’ सञ्चालिका शेर्पाले भनिन्, ‘लक डाउनले केहि असर गरेको छ ।’
रिसोर्ट नजिकै सञ्चालन हुने कालिज फार्ममा पहिलो चरणमा २ हजार चल्लाहरु राख्ने तयारी भइरहेको छ । कालिज फर्मका लागि आवश्यक ठाउँको तयारी भइसकेकोले यहि महिनाबाट चल्ला पाल्न शुरु गर्ने तयारी छ । कालिज ६ महिनामा खान योग्य हुने छ । अहिले खाडिचौरदेखि चरिकोटसम्मको सडक बिस्तार कार्य भइरहेको छ ।
सडक निर्माणसम्पन्न भइसकेपछि काठमाडौबाट करिब ४ घण्टामा चरिकोट पुग्न सकिन्छ । काठमाडौंबाट १ सय २९ किलोमिटरको दुरीमा रहेको चरिकोटमा बिशेष गरि कालिञ्चोकमा हिउँ खेल्न जानेहरुको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ ।