काठमाडौैं। प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भेटेका छन्। मुलुकको आर्थिक प्रणालीमा सुधार ल्याउन र वित्तीय अपराध नियन्त्रणलाई प्राथमिकता दिने गरी सोमबार प्रधानमन्त्री शाहले गभर्नर पौडेलसँग बिहान ११ बजे बालुवाटारमा झन्डै एक घन्टा छलफल गरेका हुन्।
उक्त भेटमा प्रधानमन्त्रीले सरकारले हालै सार्वजनिक गरेको ‘१०० बुँदे कार्ययोजना’ सफलतापूर्वक कार्यान्वयन गर्न वित्तीय क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै गभर्नरलाई कुनै पनि बाह्य दबाब वा प्रभावमा नपरी आफ्नो जिम्मेवारी पूरा गर्न स्पष्ट निर्देशन दिएका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले वित्तीय क्षेत्रमा मौलाएको बिचौलिया संयन्त्र र ऋण दुरुपयोग रोक्न केन्द्रीय बैंकले चाल्ने जुनसुकै कदममा सरकारको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएका छन्।
‘मुलुकको आर्थिक अवस्था सुधारका लागि गभर्नरले डराउनुपर्ने कुनै कारण छैन, सरकारले आवश्यक सबै नीतिगत गाँठो फुकाइदिन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘विशेष गरी सम्पत्ति शुद्धीकरण र वित्तीय अनियमितताको अनुसन्धानमा सीआईबीसँग समन्वय गरी थप आक्रामक रूपमा प्रस्तुत हुन प्रधानमन्त्रीले जोड दिनुभएको छ।’
प्रधानमन्त्रीले विश्व राजनीतिमा देखिएको अस्थिरताले रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा पार्न सक्ने प्रभावबारे चासो राख्नुभएपछि गभर्नरले मुलुकको विदेशी मुद्रा सञ्चिति हाल ऐतिहासिक रूपमा बलियो रहेको र जोखिम व्यवस्थापनका लागि राष्ट्र बैंक तयारी अवस्थामा रहेको जानकारी गराएका थिए।
प्रधानमन्त्रीसँगको यो भेट हुनुअघि आइतबार गभर्नर पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि विस्तृत छलफल गरेका थिए। अर्थमन्त्री र गभर्नरबीचको पछिल्लो सुमधुर कार्यगत सम्बन्धले आगामी बजेट निर्माण र मौद्रिक नीतिबीच तादात्म्य मिलाउन सहज हुने विश्वास गभर्नरले पाइसकेका छन्।
अर्थमन्त्रीसँगको भेटमा पनि बजेट कार्यान्वयनका लागि राष्ट्र बैंकले लिने नीति सहयोगी र समन्वयकारी हुनुपर्नेमा जोड दिइएको थियो। अर्थमन्त्री र गभर्नरबीचको बलियो आपसी समझदारीले गर्दा यसअघिका कार्यकालमा देखिने गरेको नीतिगत टकराव अब अन्त्य हुने र वित्तीय क्षेत्रमा काम गर्न थप सहज वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।
यसबीच गभर्नरले केही दिनअघि प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनसँग पनि भेट गरी आर्थिक सुधारका विविध आयाम र भावी कार्यदिशाबारे छलफल गरेका थिए।