काठमाडौं। कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (सीआरएमएस) मा सुधार गर्दै ठेगाना परिवर्तनसम्बन्धी सेवा थप छिटो र सहज बनाएको छ। अब कम्पनीहरूले आवश्यक कागजात अनलाइन अपलोड गर्नेबित्तिकै प्रणालीमार्फत स्वचालित रूपमा पत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
यसअघि यस्ता पत्र प्राप्त गर्न केही दिन लाग्ने गरेकोमा अब प्रक्रिया तत्कालै सम्पन्न हुने भएको सूचना अधिकारी रामप्रसाद ज्ञवालीले जानकारी दिए। कार्यालयका अनुसार सेवाग्राही, कर्मचारी र सरोकारवालाबाट प्राप्त सुझावका आधारमा प्रणालीमा विभिन्न सुधारहरू लागू गरिएको हो।
पहिले ठेगाना परिवर्तनका लागि कागजात अपलोड गरेपछि सम्बन्धित अधिकारीबाट स्वीकृति लिन करिब दुई दिन लाग्ने गरेको थियो। अब भने सुरुमा नै आवश्यक सबै कागजात पेश गरेपछि प्रणालीले तुरुन्तै पत्र जारी गर्ने व्यवस्था मिलाइएको छ। यस्तै, कम्पनीको युजर (इमेल र फोन नम्बर) परिवर्तन गर्न कार्यालयमै उपस्थित हुनुपर्ने झन्झट हटाइएको छ। अब सीआरएमएसमा पहुँच भएका प्रयोगकर्ताले आफ्नै मोबाइल नम्बर र इमेल प्रणालीमार्फत आफैं परिवर्तन गर्न सक्ने भएका छन।
सञ्चालक समिति अद्यावधिक प्रक्रियामा पनि सुधार गरिएको छ। कम्पनी ऐनअनुसार बोर्ड सदस्य संख्या ११ भन्दा बढी नहुने, एक अध्यक्ष अनिवार्य हुने, एकल कम्पनीमा १ जना र पब्लिक कम्पनीमा न्यूनतम ३ जना सदस्य हुनुपर्ने व्यवस्था लागू गरिएको छ। साथै, कम्तीमा १ जना महिला र १/२ जना स्वतन्त्र सञ्चालक अनिवार्य गरिएको छ। त्यसैगरी, शेयरधनी विवरणमा शेयर संख्या शून्य भएकालाई ‘पूर्व शेयरधनी’’ र अन्यलाई ‘सक्रिय शेयरधनी’ भनेर वर्गीकरण गरिएको छ।
खारेजी तथा विशेष खारेजीसम्बन्धी प्रक्रियामा पनि पारदर्शिता बढाइएको छ। अब सम्बन्धित अधिकारीहरूले सबै टिप्पणीहरू हेर्न सक्ने व्यवस्था गरिएको छ। जसले माथिल्लो तहबाट अस्वीकृत भएका टिप्पणीहरूको जानकारी तल्लो तहसम्म पुग्ने र आवश्यक परे पुनः पेश गर्न सहज बनाउनेछ। विशेष खारेजीका क्रममा आवेदनमा थप कागजात वा संशोधन आवश्यक परेमा ‘सेन्ड फर करेक्सन’ सुविधा समेत थप गरिएको कार्यालयले जनाएको छ।