काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पश्चिम एसियामा तीन दिन विशेष उडान सञ्चालन गर्ने भएको छ। शुक्रबारदेखि आइतबारसम्म विभिन्न क्षेत्रमा विशेष उडान सञ्चालन गर्ने भएको हो।
पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउनका लागि विशेष उडान गर्न लागिएको हो। भोलि ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं, ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्न लागेको हो।
ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाको चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीबीच बैठक बसेको थियो।
उक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो।
परराष्ट्रमन्त्रीको निर्देशनपछि नेपाल वायुसेवा निगमले विशेष उडान सञ्चालन गर्न लागेको हो। पश्चिम एसियामा विद्यमान तनाव तथा असुरक्षा अवस्थाका कारण ती क्षेत्रहरूमा नियमित उडानहरू २८ फेब्रुअरीदेखि स्थगित रहेको छ।
उडानका दौरान आवश्यक बीमा व्यवस्था सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। पश्चिम एसियामा विद्यमान तनावको अवस्थामा समेत विशेष उडान सञ्चालन गर्न योगदान र समन्वय गर्ने अन्य सरोकारवाला निकायलाई परराष्ट्र मन्त्रालयले धन्यवाद दिएको छ।