काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले टिकटकर तुलसा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले टिकटकर अधिकारीसहित १० जनाले ललितपुरका एक अटोमोबाइल व्यवसायीलाई हनी ट्रयापमा पारेर ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरेको हो।
अधिकारीसहित एउटै व्यवसायीबाट साढे चार करोड रुपैयाँभन्दा बढी रकम असुलेको दाबी छ। मुद्दाकी प्रतिवादी २८ वर्षीया निलिका (नेलिका) लामिछानेलाई प्रहरीले पक्राउ गरी साधारण जमानतमा रिहा गरिसकेको छ।
उनीबाहेक अन्य ९ जना; मुकेशकुमार धानुका, दिलकुमारी लिम्बू, अशोक कुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, कानो मामा भन्ने प्रयास पोखरेल, गंगा अधिकारी सुवेदी, तुल्सा कलेक्सन प्रालि र एक फरार प्रतिवादीमाथि पनि कारबाहीको माग गरिएको छ।
अभियोगपत्रअनुसार काभ्रे घर भई ललितपुर बस्ने अटोमोबाइल व्यवसायी कुमार चिमोरिया र प्रतिवादी तुलसी अधिकारीबीच २०७५ मा व्यावसायिक सिलसिलामा चिनजान भएको थियो। बुटवलमा गाडी खरिद–बिक्रीको बहानामा भेट गरी तुलसीले व्यवसायीलाई भैरहवाको एउटा होटलमा पुर्याएर शारीरिक सम्बन्ध राखेकी थिइन्।
सोही शारीरिक सम्बन्धलाई हतियार बनाएर तुलसीले बलात्कार मुद्दा हालिदिन्छु भन्दै ब्ल्याकमेलिङ सुरु गरेकी थिइन्। व्यवसायीले आफ्नो सामाजिक प्रतिष्ठा जोगाउन पटक–पटक गरी हालसम्म ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद, जिन्सी र सम्पत्ति बुझाउन बाध्य भएको जाहेरीमा उल्लेख छ।
प्रहरी अनुसन्धानले तुलसीको संगठित ठगी तरिका र घटनाक्रम सार्वजनिक गरेको छ। उनले विभिन्न समयमा शंकरलाई धम्की दिँदै उक्त रकम असुलेकी हुन्।
तुलसीले भारतलगायतका देशमा पुगी सुरेन्द्रभक्त सुवाल, रविन श्रेष्ठ, बलबहादुर राउत क्षेत्रीलगायतका व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई ती रकम हुन्डीमार्फत चीनमा पुर्याउने गरेको भेटिएको अभियोगपत्रमा उल्लेख छ।
मुद्दाका मुख्य योजनाकार तुलसी हाल चीनमा रहेको र अन्य अधिकांश प्रतिवादीहरू फरार रहेको अभियोगपत्रमा उल्लेख छ।
पीडित शंकर अटो व्यवसायीले गत साउनमै दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अधिकारीले हनी ट्रयापमा पारेर जाहेरवाला शंकर अधिकारी (परिवर्तित नाम) लाई विभिन्न मितिमा तिर्न लगाएको रकम मात्रै ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ५४ पैसा रहेको अभियोगपत्रमा उल्लेख छ।
यो रकम ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभबापतको कसुरमा कायम गरिएको बिगो रकम हो। सम्पत्ति शुद्धीकरणको बिगो २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा कायम गरिएको छ।