काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदका लागि उद्यमी रामचन्द्र संघाई उम्मेदवार बन्ने पक्का भएको छ। देशभरका उद्यमी व्यवसायी तथा महासंघका पूर्वअध्यक्षहरूसँगको छलफलपछि उनले उम्मेदवारी दिने निष्कर्षमा पुगेका हुन्।
विगत २२ वर्षदेखि महासंघमा निरन्तर क्रियाशील संघाई महासंघका पूर्वउपाध्यक्षसमेत हुन्। उनले रविभक्त श्रेष्ठको कार्यकालदेखि महासंघमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। शेखर गोल्छाको कार्यकालमा एशोसियटतर्फको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापतिको जिम्मेवारी सम्हालेका थिए।
त्रिवेणी ग्रुपका निर्देशकसमेत रहेका उनले व्यवसायीको हकहितका पक्षमा काम गर्ने अठोटसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन्। त्रिवेणी ग्रुपअन्तर्गत उत्पादनमूलक, सेवामूलक तथा कृषिजन्य दर्जनौँ उद्योग सञ्चालनमा रहेका छन्। जहाँ करिब १८ हजार श्रमिक परिवार आबद्ध छन्। साथै, साना तथा मझौला उद्यम क्षेत्रमा पनि उनको सक्रिय संलग्नता रहेको छ।
संघाईले साना तथा मझौला उद्यमी व्यवसायीले भोग्दै आएका समस्याबारे आफू पूर्ण जानकार रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्। उद्योगी व्यवसायीका समस्या बुझ्न र समाधान गर्न सक्ने, रोजगारी सिर्जना तथा उत्पादन वृद्धि गर्न सक्षम नेतृत्व महासंघमा आवश्यक रहेको उनको भनाइ छ।
उनले नयाँ सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै निजी क्षेत्रले पनि सरकारसँग मिलेर काम गर्नुपर्ने बताए। यसका लागि ठोस नीतिगत सुधार आवश्यक रहेकोमा उनले जोड दिएका छन्।
लगानी वातावरण सुधार, निजी क्षेत्रको सुरक्षा तथा उद्योग प्रवर्द्धनका लागि समयसीमासहित काम अघि बढाउने सरकारी घोषणाले निजी क्षेत्र उत्साहित भएको संघाईले बताए। साथै, सत्तारुढ दलका सभापतिले संसदमा गरेको सम्बोधनले निजी क्षेत्रलाई थप हौसला प्रदान गरेको उनको भनाइ छ।
संघाईले नयाँ सरकारले जनविश्वासमा आधारित भएर देश र जनताको पक्षमा काम गरे आगामी पाँच वर्ष नेपालका लागि ‘स्वर्ण युग’ बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।
महासंघको ६०औँ वार्षिक साधारणसभा चैत २९ र ३० गते काठमाडौंमा आयोजना हुँदै छ। सो साधारणसभाबाट निर्वाचित कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्ने छ।