काठमाडौं। शुक्रबार सेयर बजार १३.४६ अंक घटेको छ। आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ। शुक्रबारको कारोबारपछि नेप्से परिसूचक २८३७ अंकमा कायम भएको छ। कारोबार रकम पनि केही घटेको छ। अघिल्लो दिन ९ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९९ करोडको भयो।
५६ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने तीनको स्थिर रह्यो। समग्र बजार घट्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५९ प्रतिशत (१८२ अंक) बढेको छ। यो समूहको सूचक हालसम्मकै उच्च ११ हजार ६४२ अंकमा पुगेको छ। यो समूहमा केही नयाँ कम्पनी थपिएर लगातार मूल्य बढ्दा सूचकले नयाँ रेकर्ड बनाएको हो।
आज उत्पादनबाहेक हाइड्रोपावर समूह ०.०८ प्रतिशत बढ्यो। अरु सबै समूहका सूचक घटेका छन्। बैंकिङ ०.७४, विकास बैंक ०.६७, फाइनान्स ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी १.१२, जीवन बीमा ०.७१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४८, अन्य १.३९ तथा व्यापार १.०६ प्रतिशत घटे। ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।
१० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, शिखर पावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक छन्। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३६, हिमालयन हाइड्रोपावरको ८.४८ प्रतिशत मूल्य बढ्यो।
माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४।०४ प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स्, रिडी पावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनी छन्।