काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। कृषि मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय कृषि सहकार्य, विशेषगरी रासायनिक मल आपूर्तिसम्बन्धी विषयमा छलफल भएको हो।
सो छलफलका क्रममा मन्त्री चौधरीले नेपालमा रासायनिक मल आपूर्तिमा सहयोग गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै पुरानो ‘जी–टु–जी’ (सरकार–सरकारबीच) सम्झौताको म्याद सकिएको विषयमा ध्यानाकर्षण गराएकी हुन्। उनले नयाँ सम्झौताको प्रक्रिया छिटो अघि बढाउन सहजीकरण गरिदिन भारतीय पक्षसँग अनुरोध गर्न भएको छ।
मध्यपूर्वमा देखिएको वर्तमान संकटका कारण मल आपूर्तिमा समस्या देखिएको उल्लेख गर्दै मन्त्री चौधरीले आगामी वर्खे धान सिजनलाई लक्षित गरी भारतबाट १ लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डिएपी ‘जी–टु–जी’ प्रणालीमार्फत खरिद प्रक्रिया सहज बनाइदिन आग्रह गरे।
यस्तै, भारतीय राजदूत श्रीवास्तवले अरुण जलविद्युत आयोजनामा वनसँग सम्बन्धित देखिएका समस्याबारे मन्त्री चौधरीलाई जानकारी गराएका थिएस। भारतको सिलगुढीदेखि नेपालको झापासम्मको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा देखिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) कार्यमा सहयोग गर्नु पर्नेबारे समेत जानकारी गराए।
सो भेटवार्तामा कृषि क्षेत्रको सहकार्य विस्तारका लागि विभिन्न प्रस्तावहरू अघि सारिएका छन्। भेटका क्रममा नयाँ कृषि स्टार्टअपमार्फत कृषि उद्यमीलाई अनुभव आदान–प्रदान, आधुनिक कृषि प्रविधिबारे ज्ञान अभिवृद्धि तथा क्षमता विकासका लागि पुनः भारत भ्रमणको आयोजना गर्ने प्रस्ताव समेत राजदूत श्रीवास्तवले राख्नु भएको छ।
त्यसैगरी, उखुको उन्नत बीउ अनुदानमा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ। यसका साथै, नेपाल–भारत सीमाक्षेत्रमा देखिने पशुजन्य रोग नियन्त्रणका लागि दुवै देशबीच संस्थागत समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ। मन्त्री चौधरीले नेपाल–भारतबीचको कृषि सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै दुई देशबीचको मित्रता र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।