काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आगामी निर्वाचनका लागि पर्यटन तथा लजिस्टिकका सफल व्यवसायी दुर्गा प्रसाद सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। व्यवसायी नरेश लाल श्रेष्ठको प्यानलबाट उनले उम्मेदवारी दिएका हुन्।
स्नातक तहको अध्ययन पूरा गरेपछि कुरियर सेवा (लजिस्टिक)मा प्रवेश गरेका सुवेदीले यो क्षेत्रमा निरन्तर २१ वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका छन्। उनी नेपाल कुरियर सेवा संघका निवर्तमान अध्यक्ष समेत हुन्।
‘मेरो उम्मेदवारी केवल पदको लागि होइन। नीतिगत सुधार, व्यवसायिक सम्मान र हाम्रो उद्योग वाणिज्य क्षेत्रको सही प्रतिनिधित्वका लागि मैले उम्मेदवारी दिएको हुँ,’ सुवेदीले भने।
उनले पर्यटन तथा आतिथ्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन्। हाल उनी डिवाइके ग्रुपका अध्यक्ष छन्। डिवाइके ग्रुपअन्तर्गत एपेक्स विजनेस होटेल सञ्चालन गर्दै उनले हस्पिटालिटी क्षेत्रमा काम गरिरहेका छन्। डिवाइके ग्रुपले कुरियर, लजिस्टिक्स, हस्पिटालिटी, ऊर्जा, घरजग्गा र सैलुन लगायत विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दछ।
सुवेदीले एपेक्स वल्र्डवाइड एक्सप्रेस प्रा.लि., एपेक्स वल्र्डवाइड एक्सप्रेस (भारत र अमेरिका)पनि सञ्चालन गरिरहेका छन्। नेपालमा मात्र नभइ विदेशका विभिन्न ठाउँमा सामान ढुवानीको लागि एपेक्स ग्लोबल लजिस्टिक प्रा.लि.नामक ग्लोबल ब्राण्ड पनि सञ्चालन गर्दै आइरहेका छन्।
यसबाहेक उनले बज्र इनर्जी भेन्चर्स प्रा.लि., भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड, कन्भिनियन्स प्रोडक्ट प्रा.लि.र राजवाला ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि.समेत स्थापना गरी सञ्चालन गरिरहेका छन्।
उम्मेदवारी घोषणा गर्दै सुवेदीले भने, “मेरो विगतको अनुभव र नेतृत्व क्षमताको प्रयोग गर्दै उद्यमीहरूको साझा आवाज बन्न र व्यवसायी समुदायले भोगिरहेका वास्तविक समस्या समाधान गर्न म निरन्तर प्रयास गर्नेछु।”
व्यवसायिक क्षेत्रमा लामो अनुभव बोकेका सुवेदी विभिन्न संघ–संस्था पनि आवद्ध छन्। उनी नेपाल कुरियर सेवा संघ, रोटरी इन्टरनेशनल, जेसिस नेपाल, पतञ्जली योगपीठ र एभरेष्ट चेम्बर अफ कमर्स (भारत) लगायतका संस्थामा सक्रिय छन्।
उनले एफएनसीसीआईका सबै सदस्य तथा व्यवसायीहरूसँग आफ्नो उम्मेदवारीलाई समर्थन र मत दिन अनुरोध गरेका छन्। “यो अभियान सकारात्मक परिवर्तनका लागि हो। तपाईंहरूको अमूल्य समर्थन र मतको अपेक्षा गर्दछु र त्यसको सम्मान पनि गर्नेछु,” सुवेदीले बताए।