काठमाडौँ। सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक संयुक्त राज्य अमेरिका र इरानबीच उच्चस्तरीय प्रत्यक्ष वार्ता सुरु भएको छ। पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार आयोजित ‘फेस–टु–फेस’ वार्तालाई मध्यपूर्वमा जारी तनाव र युद्ध अन्त्यतर्फको महत्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ।
इस्लामावादस्थित सेरेना होटलमा भइरहेको त्रिपक्षीय छलफलमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले नेतृत्व गरिरहेका छन्। ७१ सदस्यीय इरानी प्रतिनिधिमण्डलमा विदेशमन्त्री अब्बास अराघची समेत सहभागी छन्। वार्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको मध्यस्थतामा भइरहेको हो।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इस्लामावादमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। विगत करिब छ सातादेखि जारी द्वन्द्वलाई अन्त्य गर्दै क्षेत्रीय स्थिरता कायम गर्ने उद्देश्यले यो संवाद सुरु गरिएको हो।
वार्तामा दुवै पक्षले आ–आफ्ना मुख्य अडान प्रस्तुत गरेका छन्। इरानले अमेरिकाले रोक्का गरेको करिब १२० अर्ब अमेरिकी डलर फुकुवा गर्नुपर्ने, लेबनानमा तत्काल युद्धविराम हुनुपर्ने तथा युद्ध क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ।
यता अमेरिकाले इरानको आणविक कार्यक्रममा कडाइका साथ सम्झौता गर्नुपर्ने, हिरासतमा रहेका अमेरिकी नागरिकहरूको रिहाइ हुनुपर्ने तथा विश्व व्यापारका लागि रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मजलाई स्थायी रूपमा खुला राख्नुपर्ने माग अघि सारेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भए अमेरिकी सैन्य शक्ति पूर्ण रूपमा प्रयोग गरिने चेतावनी दिएका छन्। उनले स्ट्रेट अफ हर्मज क्षेत्रमा अवरोध हटाउने प्रक्रिया सुरु भइसकेको दाबी गरेका छन्।
वार्ताकै बीचमा इजरायलले लेबनानमा हिजबुल्लाहका २०० भन्दा बढी ठेगानामा आक्रमण जारी राखेकाले वार्ताको वातावरण चुनौतीपूर्ण बनेको छ। यद्यपि, विश्व बजारमा देखिएको अस्थिरता र तेल मूल्यमा आएको उतारचढाव कम गर्न यो वार्तालाई निर्णायक रूपमा हेरिएको छ।