काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विभिन्न क्षेत्रहरुलाई गरी ६० अर्ब रुपैयाँको राहात दिने भएको छ । बजेटमा सरकारले नगद, विभिन्न छुट, प्रोत्साहन, क्षतिपूर्ति, ब्याजमा सहुलियत र सुलभ मूल्यमा वस्तु उपलब्ध गराउन सरकारका विभिन्न निकायहरुबाट सो रकम बराबरको राहात वितरण गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
पत्रकार सम्मेलन आयोजना गरी अर्थमन्त्रीले प्रधानमन्त्री रोजगार कार्यक्रममाफर्त ३ अर्ब रुपैयाँ राहातमा खर्च हुने अनुमान गरिएको बताए । १० युनिटसम्म बिजुली खपतलाई निःशुल्क, थप छुट, डिमाण्ड र अन्य शुल्क र मिनाहामा मात्रै ८ अर्ब रुपैयाँ छुट पाउने उनले जानकारी दिए ।
यस्तै हवाई सेवाको इन्धनलगायतमा १ अर्ब २५ करोड छुट हुने अर्थमन्त्रीले बताए । विभिन्न रोजगार कार्यक्रमका लागि १४ अर्ब रुपैयाँ खर्च हुने अनुमान सरकारको छ । राष्ट्र बैंकले १ खर्ब रुपैयाँको पुनरकर्जा सुविधा दिने भएको छ ।
यस्तै केन्द्रीय बैंकबाट २० अर्ब रुपैयाँको राहात प्याकेज परिचालिन हुने भएको छ । कर छुटबाट साढे ६ अर्बको राहात वितरण हुने अर्थमन्त्री खतिवडाले स्पष्टपारे । खाद्यन्न वितरणमा ५० करोड रुपैयाँ बढी अनुदान खर्च हुने अनुमान सरकारको छ ।
‘अब अनुदान दिनुहुन्न भन्ने दिन गए, अनुदान विश्वव्यापी बनेको छ’ उनले भने । सरकारले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उद्योगी व्यवसायी र सर्वसाधारणलाई राहात दिएको अर्थमन्त्रीको भनाई छ ।