काठमाडौं। एनआईसी एसिया बैंकले देशका विभिन्न महानगरअन्तर्गत रहेका ४४ वटा शाखा कार्यालय समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ। बैंकले आगामी वैशाख ३ देखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाएको जनाएको छ।
बैंकका अनुसार सबैभन्दा धेरै शाखा काठमाडौं महानगरपालिकाभित्र मर्ज गरिनेछ, जहाँ २६ वटा शाखा एकीकृत गरिँदै छन्। त्यस्तै ललितपुर महानगर र पोखरा महानगरपालिका मा ६–६ वटा, विराटनगर महानगरमा ३ वटा, वीरगञ्ज महानगरमा २ वटा र भरतपुर महानगरमा १ वटा शाखा मर्ज हुनेछन्।
काठमाडौंमा नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजारका शाखा एकीकृत भएपछि कमलादी शाखाबाट सेवा दिइनेछ भने बोहोरा टार, माछापोखरी तथा ढुंगेधारा–नर्सरी चोकका शाखा बालाजु शाखामा समायोजन गरिनेछन्। त्यसैगरी न्यूरोड क्षेत्रका खिचापोखरी, भोटाहिटी र किलागल शाखा विशालबजार शाखामा गाभिनेछन्।
तिनचुली र चाबहिल शाखा बौद्ध शाखामा समाहित हुनेछन् भने नरेफाँट शाखा कोटेश्वरमा, बालुवाटार शाखा लाजिम्पाटमा र अनामनगर, शंखमुल तथा मध्य बानेश्वरका शाखा नयाँ बानेश्वर शाखामा गाभिनेछन्। खसीबजार शाखा कलंकीमा, कपन शाखा सुकेधारा, गोंगबु शाखा सामाखुसीम सोह्रखुट्टे शाखा ठमेलमा र टेकु शाखा त्रिपुरेश्वर शाखामा समायोजन गरिने बैंकले जनाएको छ।
साथै सिनामंगल, मित्रपार्क र कालोपुलका शाखा बत्तीसपुतली शाखाबाट सञ्चालन हुनेछन्। ललितपुरमा लगनखेल र मंगलबजार शाखा जावलाखेलमा गाभिनेछन् भने सानेपा र ग्वार्को शाखा सातदोबाटोमा समायोजन हुनेछन्। खोकना शाखा भने भैंसेपाटी शाखामा एकीकृत गरिनेछ।
पोखरामा पावरहाउस चोक र बुढीबजार शाखा लेखनाथ शाखामा, बाझापाटन शाखा अमरसिंह चोक शाखामा तथा महेन्द्रपुल र बगर शाखा न्यूरोड पोखरा शाखामा समाहित गरिनेछन् । बिरौटा शाखा लेकसाइड शाखामा गाभिनेछ।
भरतपुरको बसेनी शाखा हाकिम चोक शाखामा समायोजन गरिनेछ । विराटनगरमा मेनरोड र हाटखोल शाखा विराटनगर शाखामा गाभिँदा रानी मिल्स शाखा रोडशेष चोक शाखामा एकीकृत हुनेछ। त्यस्तै वीरगञ्जमा लिङ्ग रोड र पावरहाउस चोक शाखा आदर्शनगरस्थित वीरगञ्ज शाखामा समाहित भएर सेवा सञ्चालन हुने बैंकले जनाएको छ।