काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दबदबा रहेको संघीय प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समिति र दुई संयुक्त समितिले नेतृत्व (सभापति) पाएका छन्।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा ९ र संयुक्त एउटा समितिमा सभापति निर्विरोध भएका छन् भने बाँकी दुई वटामा निर्वाचनमार्फत सभापति छानिएका हुन्। आज सिंहदरबारमाघप्रतिनिधिसभाअन्तर्गतका समितिको बैठकबाट सभापति छानिएका हुन्।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समिति सभापतिमा भरतबहादुर खड्का, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास र उद्योग समिति सभापतिमा रहवर अन्सारी निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, कानुन न्याय तथा मानव अधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशीष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी निर्विरोध भए।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध भएका छन्। निर्विरोध निर्वाचितमध्ये सार्वजनिक लेखा समितिका सभापति खड्काबाहेक सबै रास्वपा सांसद हुन्।
प्रतिनिधिसभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिए। प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी सांसद डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा रास्वपा सांसद शेरचन निर्वाचित भइन्।
संयुक्त राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदन कुमारी शाह (गरिमा)बीच प्रतिस्पर्धा भयो। निर्वाचनमा रास्वपा सांसद कार्की निर्वाचित भएको संघीय संसद् सचिवालयले जनाएको छ।