काठमाडौं। उद्योग विभागले चिउरामा ‘कुरुम कुरुम’ ब्रान्ड लेख्ने अधिकार हाइलाइफलाई दिएको छ। विभागले हाइलाइफ–सिक्सभिल्ला ट्रेडमार्क विवादमा कुरुम कुरुम ब्रान्ड अधिकार हाइलाइफलाई दिने निर्णय गरेको हो। हाइलाइफ उत्पादन गर्ने नेपाल एभरेस्ट फुड एन्ड स्न्याक्स प्रालि र सिक्सभिल्ला प्रालिबीच लामो समयदेखि चलिरहेको व्यापारिक चिह्नसम्बन्धी विवादमा विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्ला प्रालिको दर्ता बदर गरेको हो।
विभागले दुवै पक्षका प्रमाण, तर्क र सर्वोच्च अदालतका नजिरहरूको अध्ययनपछि यस्तो चिउरामा कुरुम कुरुम ब्रान्ड अधिकार हाइलाइफको भएको सुनाएको हो। विवादको मूल विषय नेपाल एभरेस्ट फुड एन्ड स्न्याक्स प्रालिले प्रयोग गर्दै आएको ‘हाइलाइफ’ नामक व्यापारिक चिह्न र त्यससँग सम्बन्धित लेबल, डिजाइन, रङ संयोजन तथा समग्र प्रस्तुति रहेको थियो।
उजुरीकर्ताले सिक्सभिल्ला प्रालिले सोही चिह्नको रूप, बनावट र प्रस्तुति हुबहु नक्कल गरी आफ्नो नाममा दर्ता गराएको आरोप लगाएको थियो। उजुरीकर्ताका अनुसार ‘हाइलाइफ’ ब्रान्ड लामो समयदेखि बजारमा स्थापित भइसकेको, उपभोक्ताले चिन्ने र विश्वास गर्ने चिह्न बनेको अवस्थामा सिक्सभिल्लाले मिल्दोजुल्दो संरचना प्रयोग गर्दा उपभोक्तामा भ्रम उत्पन्न हुने र आफ्नो व्यापारिक साखमा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना भएको थियो।
उद्योग विभागले दुवै पक्षको दाबी, पेस भएका कागजात र दृश्य प्रमाणहरू अध्ययनपछि सिक्सभिल्लाले दर्ता गराएको व्यापारिक चिह्न हाइलाइफसँग अत्यधिक मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेको हो। विशेषगरी लेबलको बनावट, रङ संयोजन, अक्षर शैली, वस्तुको प्रस्तुति र समग्र बाहिरी स्वरूपमा उल्लेखनीय समानता देखिएको विभागले जनाएको छ।
‘व्यापारिक चिह्नको मुख्य विशेषता नै फरक पहिचान हुनु हो, कुनै पनि चिह्नले बजारमा अलग पहिचान बनाउन नसके वा पहिले नै स्थापित चिह्नसँग मिल्दोजुल्दो देखिए त्यसलाई वैध मान्न सकिँदैन,’ विभागको फैसलामा छ, ‘यस सन्दर्भमा हाइलाइफ पहिले नै दर्ता भई प्रयोगमा आएको र बजारमा स्थापित भएको प्रमाणित भएपछि सिक्सभिल्लाको दर्ता मौलिक भएको देखिएन।’
सर्वोच्च अदालतका विभिन्न नजिर आधार बनाउँदै उद्योग विभागले व्यापारिक चिह्नलाई औद्योगिक सम्पत्तिका रूपमा व्याख्या गरेको छ। कुनै पनि उद्यमीले सिर्जना गरेको चिह्न, डिजाइन वा पहिचानमा उसको एकाधिकार रहने र त्यसको संरक्षण गर्नु राज्यको दायित्व हुने नजिरहरूमा उल्लेख छ।
यस्तै उपभोक्तालाई झुक्याउने वा भ्रममा पार्ने उद्देश्यले मिल्दोजुल्दो चिह्न प्रयोग गर्नु व्यापारिक मर्यादा विपरीत हुने र यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने पनि निर्णयमा छ। विभागले सिक्सभिल्ला प्रालिको दर्ता उपभोक्तामा भ्रम सिर्जना गर्ने खालको भएको, मौलिकता नदेखिएको र उजुरीकर्ताको स्थापित पहिचानसँग अत्यधिक समानता रहेको ठहर गर्दै उक्त व्यापारिक चिह्नको दर्ता बदर गर्ने निर्णय सुनाएको हो।
निर्णयमा व्यापारिक चिह्न दर्ता गर्दा केवल पहिलो निवेदन मात्र आधार नहुने, बरु चिह्नको मौलिकता, फरक पहिचान र उपभोक्तामा भ्रम नपार्ने पक्षहरू पनि समान रूपमा महत्त्वपूर्ण हुने उल्लेख छ। विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्लाको दर्ता पूर्णरूपमा खारेज गरेको छ।
यो निर्णयले नेपालमा बौद्धिक सम्पत्ति संरक्षण, मौलिक सिर्जनाको सम्मान र उपभोक्ता हितको सुरक्षा कति महत्त्वपूर्ण छ भन्ने सन्देश दिएको छ। बजारमा स्थापित चिह्न नक्कल गरेर व्यापारिक फाइदा लिन खोज्ने प्रवृत्ति निरुत्साहित गर्दै यस्तो निर्णयले स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने अपेक्षा छ।