काठमाडौं। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र उनका छोरा कृषिव अग्रवालले ३४ करोड ४२ लाख रुपैयाँ बराबरको धितोपत्रमा गम्भीर अनियमितता गरेको निष्कर्ष निकालेको छ।
पदको दुरुपयोग गर्दै ‘इनसाइडर ट्रेडिङ’ र जालसाजीयुक्त कारोबारमा संलग्न रहेको पाइएपछि बोर्डले उनीहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सिफारिस गरेको हो।
२०८३ वैशाख ३ गते तयार पारिएको उक्त प्रतिवेदनले अग्रवाल बाबु–छोराले धितोपत्र ऐन र नियमनकारी व्यवस्थाको गम्भीर उल्लंघन गरी नाबालिक छोरासँग अंशवण्डाको नाममा जालसाजी गरेर झन्डै ३४ करोड ४२ लाख रुपैयाँ बराबरको अवैध सेयर कारोबार गरेको खुलासा गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका क्रममा सुलभ अग्रवालले दिएको बयान र बोर्डको छानबिनबाट यो घटना बाहिर आएको हो।
अग्रवालले कानुनी प्रावधान छल्न काठमाडौं जिल्ला अदालतमा ‘अंश चलन’ मुद्दा खडा गरी २०८१ चैत २० गते आफ्ना नाबालिक छोरा कृषिवसँग मिलापत्र गरेका थिए। सोही मिलापत्रको आधारमा उनले आफ्नो नाममा रहेको ८,०३,०३१ कित्ता सेयर छोराको नाममा नामसारी गराएका थिए। प्रतिवेदनले यसलाई केवल सेयर बिक्री गर्ने उद्देश्यले रचिएको एक ‘जालसाजीयुक्त प्रपञ्च’ को रूपमा व्याख्या गरेको छ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ अनुसार कुनै पनि संगठित संस्थाको अध्यक्ष वा सञ्चालकले पदमा रहँदा वा पद छाडेको एक वर्षसम्म आफ्नै कम्पनीको सेयर खरिद–बिक्री गर्न पाउँदैनन्। तर, सुलभ अग्रवालले अध्यक्ष पदमा बहाल रहेकै बेला र राजीनामा दिएको केही समयभित्रै छोराको नामबाट ठूलो परिमाणमा सेयर बिक्री गरेको भेटिएको छ।
कम्पनीको मूल्य संवेदनशील सूचनामा पहुँच भएकाले उनले ‘इनसाइडर ट्रेडिङ’ (भित्री कारोबार) गरी व्यक्तिगत लाभ लिएको बोर्डको ठहर छ।
बोर्डको अनुसन्धानले प्राविधिक रूपमा पनि बदमासी पुष्टि गरेको छ। नेप्से र ब्रोकर कम्पनीबाट प्राप्त विवरणअनुसार बाबुछोराले सेयर कारोबार गर्दा एउटै इन्टरनेट उपकरण वा आइपी ठेगाना प्रयोग गरेको पाइएको छ।
बोर्डको अनुसन्धानले प्राविधिक रूपमा पनि बदमासी पुष्टि गरेको छ। नेप्से र ब्रोकर कम्पनीबाट प्राप्त विवरणअनुसार बाबुछोराले सेयर कारोबार गर्दा एउटै इन्टरनेट उपकरण वा आइपी ठेगाना प्रयोग गरेको पाइएको छ। यसले छोरा कृषिवको नाममा खाता भए पनि त्यसको सम्पूर्ण सञ्चालन र व्यवस्थापन स्वयं सुलभ अग्रवालले नै गरेको प्रमाणित गर्छ।
सेयर बिक्रीबाट प्राप्त भएको करिब ३४ करोड ४२ लाख रुपैयाँ जगदम्बा स्टील्स र मोदी इनर्जी जस्ता अन्य व्यावसायिक कम्पनीमा पुनः लगानी गरिएकोसमेत प्रतिवेदनमा उल्लेख छ।
बोर्डको प्रारम्भिक जाँचबुझ अधिकृत दीपेश ताम्राकारले बुझाएको उक्त प्रतिवेदनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ र ९८ बमोजिमको कसुरमा कारबाही गर्न सिफारिस गरेको छ। ऐनको दफा १०१ अनुसार यस्तो कसुर गर्नेलाई बिगोबमोजिम जरिवाना र कैद सजाय दुवै हुन सक्छ।
बोर्डले यो मुद्दाको गम्भीरता र थप अनुसन्धानको आवश्यकतालाई ध्यानमा राख्दै सम्पूर्ण मिसिल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाउन निर्णय गरेको छ। यस घटनाले नेपालको पुँजी बजारमा संस्थागत सुशासन र नियामक निकायको प्रभावकारितामाथि समेत बहस सिर्जना गरेको छ।