काठमाडौं। नेपालको प्रतिष्ठित औद्योगिक घराना आरएमसी ग्रुप अन्तर्गतको खाद्य उद्योग आर.एम.सी. फुड्सले व्यापारको क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ। उद्योगी बिष्णुकुमार अग्रवाल र राजेशकुमार अग्रवालको नेतृत्वमा रहेको यो कम्पनीले चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामै सवाँ १२ अर्ब रुपैयाँ बढीको व्यापार गर्न सफल भएको हो।
दुई वर्षअघिसम्म वार्षिक ५ अर्बको व्यापार गर्न संघर्ष गरिरहेको यो कम्पनीले चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामै १२ अर्ब ३९ करोड ५० लाख रुपैयाँको व्यापार गरेर नयाँ रेकर्ड कायम गरेको छ। गत वर्ष २०२५ मा १७ अर्ब ९६ करोड ८० लाख, २०२४ मा ४ अर्ब ७६ करोड र २०२३ मा ४ अर्ब १३ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो। कम्पनीको व्यापार वृद्धि र सुधारिएको वित्तीय अवस्थालाई मध्यनजर गर्दै क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको साख मूल्यांकन (रेटिङ) मा पनि स्तरोन्नति (अपग्रेड) गरेको छ।
इन्फोमेरिक्सकले कम्पनीलाई कुल ११ अर्ब ६४ करोड ३० लाख रुपैयाँको बैंक कर्जा सीमा निर्धारण गर्दै १ अर्ब २५ करोड ४४ लाख रुपैयाँ दीर्घकालिन कर्जामा ‘डबल बी’ र १० अर्ब ३८ करोड ८५ लाख रुपैयाँको अल्पकादिन कर्जामा ‘एफोर’ रेटिङ दिएको छ। इन्फोमेरिक्सले यसअघिको ५ अर्ब ९८ करोड रुपैयाँको कर्जा सीमा बढाएर रेटिङलाई समेत अपग्रेड गरेको हो।
आरएमसी फुड्सले ‘न्युट्रिप्लस’ ब्रान्ड अन्तर्गत रिफाइन्ड आयल, राइस ब्रान आयल, वनस्पति घिउलगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ। आरएमसी फुड्सको व्यापार वृद्धि मुख्य गरी भारततर्फ निर्यातले सम्भव भएको रिपोर्टमा उल्लेख छ। भारतले रिफाइन्ड आयल (प्रशोधित तेल) को आयात महसुलमा गरेको हेरफेर र साफ्टा सम्झौता अन्तर्गत नेपालले पाएको ‘ड्यूटी फ्री’ सुविधाका कारण आरएमसी फुड्सले ठूलो लाभ उठाएको छ। आर्थिक वर्ष २०२४ मा मात्र १६ करोड ४० लाखको निर्यात गरेको कम्पनीले २०२५ मा १० अर्ब ४१ करोड ८० लाख रुपैयाँको तेल भारत निर्यात गरेको थियो। चालु आर्थिक वर्षको पहिलो ६ महिनाको कुल व्यापारमा पनि निर्यातको हिस्सा ६२ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०२४ मा कम्पनी १८ करोड रुपैयाँ सञ्चालन नोक्सानीमा थियो। तर, २०२५ मा कम्पनीले उल्लेख्य ‘टर्नअराउन्ड’ गर्दै १ अर्ब ९६ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन ११.०७ प्रतिशत र खुद नाफा मार्जिन ६.८६ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पनि सञ्चालन नाफा मार्जिन ७.१८ प्रतिशत र खुद नाफा मार्जिन ४.७८ प्रतिशत कायम छ, जुन निकै उत्साहजनक मानिन्छ।
सन् २०२१ मा बाराको जितपुरमा स्थापना भएको यो कम्पनीको उद्योग वीरगञ्ज नाकाबाट मात्र ३० किलोमिटरको दूरीमा छ।
यो अवस्थितिले गर्दा कच्चा पदार्थ आयात गर्न र तयारी वस्तु भारत निर्यात गर्न कम्पनीलाई अन्य उद्योगको तुलनामा लागत र समय दुवैमा फाइदा पुगेको छ। वार्षिक ९० हजार मेट्रिक टन तेल प्रशोधन गर्ने क्षमता भएको यो उद्योगले चामल, दाल र पशुआहारा (पिना) समेत उत्पादन गर्दै आएको छ।
कम्पनीको नेतृत्व आरएमसी ग्रुपका अध्यक्ष राजेश कुमार अग्रवाल र प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले गरिरहेका छन्। दुवै सञ्चालकसँग औद्योगिक उत्पादन र व्यापारमा २५ देखि ३० वर्ष लामो अनुभव छ, जसले कम्पनीको आक्रामक विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ। हाल कम्पनीमा दुवैको ४५/४५ प्रतिशत सेयर स्वामित्व छ ।
यद्यपि, कम्पनीको वित्तीय संरचनामा ऋणको भार भने अझै उच्च छ। सन् २०२४ मा कम्पनीको ऋण र नेटवर्थको अनुपात १४.१४ गुणा रहेकोमा २०२५ मा सुधार भएर ४.०६ गुणामा झरेको छ। सन् २०२६ को मध्य जनवरीसम्म यो अनुपात २.७२ गुणामा आएको छ, जुन सुधारोन्मुख संकेत हो।
व्यापार र नाफा चुलिए पनि आरएमसी फुड्सका लागि केही जोखिमहरू कायमै छन्। कच्चा तेलको आयातमा पूर्ण निर्भर रहनुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य वृद्धि र डलरको विनिमय दरमा हुने उतारचढावले कम्पनीलाई असर गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२५ मा ६ करोड २० लाख र २०२६ को ६ महिनामै ९ करोड २० लाख रुपैयाँ वैदेशिक मुद्रा विनिमय नोक्सानी व्यहोरेको छ। साथै, भारत र नेपालको व्यापार नीतिमा आउने फेरबदलले कम्पनीको निर्यात व्यापारलाई कुनै पनि बेला प्रभावित पार्न सक्ने जोखिम रेटिङ रिपोर्टले औंल्याएको छ।