काठमाडौं। बैंकहरूको निष्कृय कर्जा (एनपीएल) ९ प्रतिशत हाराहारी पुगेको छ। सञ्चालनमा रहेका २० मध्ये ३ वटा वाणिज्य बैंकको एनपीएल चालू वर्षको तेस्रो त्रैमासमा ९ प्रतिशत नजिक पुगेको हो।
उक्त अवधिमा वाणिज्य बैंकहरूको औसत एनपीएल नै ५ प्रतिशत माथि पुगेको छ। गत वर्षको चैत मसान्तसम्म औसत ४.८२ प्रतिशत रहेको वाणिज्य बैंकहरूको एनपीएल चालू वर्षको सोही अवधिमा ०.४० प्रतिशत बिन्दुले बढेर ५.२२ प्रतिशत पुगेको छ।
चालू वर्षको चैत त्रैमासमा सबैभन्दा बढी एनपीएल एनआईसी एसिया बैंकको ८.८५ प्रतिशत र सबैभन्दा कम एभरेष्ट बैंकको ०.६१ प्रतिशत कायम भएको छ। उक्त अवधिमा १० वटाको ५ प्रतिशत माथि हुँदा ५ वटाको ४–५ प्रतिशतसम्म, ३ वटाको १–३ प्रतिशतसम्म र एभरेष्टको मात्रै एक प्रतिशतभन्दा कम एनपीएल रहेको छ।
सञ्चालनमा रहेका २० मध्ये ३ वटा वाणिज्य बैंकको एनपीएल चालू वर्षको तेस्रो त्रैमासमा ९ प्रतिशत नजिक पुगेको हो।
समीक्षा अवधिमा ९ वटाको एनपीएल ०.०३ प्रतिशत बिन्दुदेखि १.४७ प्रतिशतसम्मले घटेको छ। सबभन्दा बढी नेपाल एसबीआई बैंकले एनपीएल घटाउँदा सबैभन्दा कम एभरेष्ट बैंकको एनपीएल घटेको हो। साथै, उक्त अवधिमा ११ वटा बैंकको ०.०४ प्रतिशतदेखि ३.७५ प्रतिशत बिन्दुसम्मले वृद्धि भएको बैंकद्वारा प्रकाशित चालू वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ।
५ प्रतिशतभन्दा बढी एनपीएल भएका बैंकहरूलाई नेपाल राष्ट्र बैंकले दिने विभिन्न सुविधाबाट वञ्चित राख्छ। चालू वर्षको त्रेस्रो त्रैमासको रिपोर्ट हेर्दा ८ वटा वाणिज्य बैंक नियामकीय सुविधाबाट वञ्चित हुने देखिन्छ।
उक्त अवधिमा सबैभन्दा बढी प्रभु बैंकको ३.३७ प्रतिशत बिन्दुले बढेर ८.८४ प्रतिशत कायम भएको छ भने एनआईसी एसियाको ३.१ प्रतिशतले थप भएर ८.८५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २.३५ प्रतिशतले बढेर ८.४१ प्रतिशत कायम भएको छ।
साथै हिमालयन बैंकको ०.३ प्रतिशत बिन्दुले थप भएर ७.९८ प्रतिशत कायम हुँदा, कुमारीको ६.९४ प्रतिशत, सिटिजन्सको ६.८२ प्रतिशत, लक्ष्मी सनराइन बैंकको ५.२९ प्रतिशत कायम छ। बाँकी बैंकहरूको भने ५ प्रतिशत कम एनपीएल छ।
