काठमाडौं। नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ आगामी मंसिरमा सङ्घीय राजधानी काठमाडौंमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३’ २६० आयोजना हुने भएको छ। ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ नाराका साथ आगामी २०८३ मंसिर ४, ५ र ६ गते भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि साउन १ गतेदेखि स्टल बुकिङ खुला गरिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा यो प्रदर्शनी हुन लागेको हो। नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रको रुपान्तरणमा टेवा पुर्याउने उद्देश्यले मेला आयोजना गरिन लागेको हो।
२०७१ सालमा स्थापना भएको गैरनाफामूलक सामाजिक संस्था नेपाल कृषि मेसिनरी व्यवसायी संघ र सरकारका विभिन्न निकायको सहकार्यमा हालसम्म पाँच पटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एकपटक प्रादेशिक प्रदर्शनी तथा एकपटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
२०७० सालमा चितवनको भरतपुरमा तत्कालीन कृषि इन्जिनियरिङ निर्देशनालयको अगुवाइमा प्रथम प्रदर्शनी आयोजना गरिएको पृष्ठभूमिमा यस वर्षको अन्तर्राष्ट्रिय संस्करण थप बृहत् र प्रविधिमैत्री हुने विश्वास लिइएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिता नेमाफुकिले जानकारी दिए।
नेमाफुकिका अनुसार प्रदर्शनीमा एक सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीकर्ताको सहभागिता रहनेछ भने स्टल संख्या दुई सयभन्दा बढी रहने, विश्वका करिब १० मुलुकका २००० भन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, यन्त्र तथा नवीनतम प्रविधि एकै थलोमा प्रदर्शन गरिनेछ।
यस्तै नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यका साथै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ’मेड इन नेपाल’ र ’मेक इन नेपाल’ अन्तर्गतका कम्पनीलाई विशेष छुट प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
कृषक, उद्यमी तथा सर्वसाधारणका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, आधुनिक सिँचाई प्रणाली, पोस्ट–हार्भेष्ट प्रविधि, कृषि उपज प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित अत्याधुनिक यन्त्र–उपकरणका साथै उन्नत बिउबिजनको प्रदर्शनी गरिनेछ। यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिष्ठित उत्पादक र बिक्रेताको सहभागिता सुनिश्चित भइसकेको छ।
आयोजकका अनुसार यस मेलाको मुख्य उद्देश्य कृषक, कृषि उद्यमी, उपभोक्ता र नीति निर्मातालाई नवीनतम प्रविधिबारे जानकारी गराउनु हो। यसका साथै, कृषि यन्त्रको प्रचारप्रसार गरी आन्तरिक बजारको प्रवद्र्धन गर्ने, व्यवसायी र उपभोक्ताबीच सीधा समन्वय कायम गर्ने तथा व्यावसायिक कृषि प्रणालीबारे चेतना अभिवृद्धि गरी नयाँ लगानी अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
मेलाले कृषि विज्ञ, उत्पादक, आयातकर्ता र कृषकबीच समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा कृषक, कृषक समूह, कृषि सहकारी, कृषि उद्यमीका साथै कृषि विधाका विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, वैज्ञानिक र नीति निर्माताको बाक्लो अवलोकन रहने अनुमान गरिएको छ।