काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले युवालाई विदेश पलायनभन्दा स्वदेशमै बसेर उद्यम गर्न आग्रह गरेका छन्।
सोफा हब काठमाडौंको छैटौं वार्षिकोत्सव अवसरमा अध्यक्ष अग्रवालले सोफा हबलाई युवा उद्यमशीलता, स्वदेशी उत्पादन तथा सफल ब्रान्ड निर्माणको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गरे। उनले नेपालमै बसेर पनि सफल व्यवसाय निर्माण गर्न सकिने सन्देश सोफा हबले दिएको उल्लेख गर्दै अन्य युवालाई पनि स्वदेशमै अवसर सिर्जना गर्दै उद्यमशीलताको बाटो रोज्न प्रेरित गरे।
अध्यक्ष अग्रवालले छोटो अवधिमै देशभर ११ वटा शाखामार्फत सेवा विस्तार गर्न सफल हुनु योजनाबद्ध व्यवस्थापन, गुणस्तरीय उत्पादन, ग्राहकप्रतिको प्रतिबद्धता तथा निरन्तर परिश्रमको परिणाम भएको उल्लेख गरे। साथै, हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना गरिएको फोम उद्योगले आयात प्रतिस्थापन, स्थानीय उत्पादन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अग्रवालले उद्योग तथा व्यापारको दिगो विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण तथा सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चेम्बरले निजी क्षेत्रका समस्या समाधान, स्वदेशी उद्योगको प्रवर्द्धन, स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न निरन्तर पहल गरिरहेको जानकारी दिए।
उनले बजेट तथा मौद्रिक नीतिसम्बन्धी सुझाव सरकारसमक्ष प्रस्तुत गरिएको र प्रधानमन्त्रीसँगको भेटमा निजी क्षेत्रका समस्या, नीतिगत सुधार तथा आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको बताए। उनले ुमेड इन नेपालु उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने दिशामा सोफा हब अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा कम्पनीका अध्यक्ष तारालाल धरेलले कर्मचारी, ग्राहक तथा शुभेच्छुकको निरन्तर साथ र विश्वासकै कारण सोफा हब छोटो समयमै स्थापित ब्रान्ड बन्न सफल भएको बताए। उनले जनकपुरमा कम्पनीको १२औँ शाखा सञ्चालनको तयारी पूरा भइसकेको र दाङमा पनि छिट्टै नयाँ शाखा विस्तार गरिने जानकारी दिए। गुणस्तरीय सेवा, ग्राहक सन्तुष्टि तथा नेपाली उत्पादनलाई प्राथमिकतामा राख्दै कम्पनी अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हिमेश पन्त, आमाछोदिंग्मो गाउँपालिका अध्यक्ष बुर्चुङ तामाङ, काठमाडौं उद्योग वाणिज्य संघका महासचिव प्रेमहरि मैनाली, वरिष्ठ पर्यटन व्यवसायी एवं समाजसेवी रामप्रसाद सापकोटालगायतले शुभकामना व्यक्त गर्दै सोफा हबले कोभिड–१९ महामारी, आगलागीलगायत चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्दै छोटो समयमै नेपालको अग्रणी फर्निचर ब्रान्डका रूपमा आफूलाई स्थापित गर्न सफल भएको बताए।