काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औँ साधारणसभा (आज) सोमबार हुँदै छ। बिहान १० बजेबाट सुरु हुने महासंघको ६०औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनेछ। यसअघि चैत २९ र ३० गते तय भएको महासंघको साधारणसभा एवं निर्वाचन प्रक्रिया अदालतमा मुद्दा परेपछि रोकिएको थियो।
रोकिएको साधारणसभा एवं निर्वाचन प्रक्रिया सोमबारबाट सुरु हुनेछ। विसं २०२२ साल पुस ११ देखि १४ गतेसम्म काठमाडौंमा आयोजित एवं राजा महेन्द्रबाट उद्घाटित प्रथम नेपाल वाणिज्य तथा औद्योगिक सम्मेलनको निर्णयअनुसार उद्योग वाणिज्य क्षेत्रको केन्द्रीय संस्थाका रूपमा वि सं २०२२ साल पुस १४ गते स्थापना भएको महासंघमा हालसम्म २० जना अध्यक्ष भइसकेका छन्।

महासंघको संस्थापक अध्यक्ष स्वर्गीय लोकनाथ जोशी हुन्। उनले २०२२ देखि २०२४ सम्म आफ्नो कार्यकाल सञ्चालन गरेका थिए। २४ वटा मात्र सदस्य संस्थाबाट सुरु भएको महासंघको यात्रा अहिले देश भरी फैलिएको छ। ७७ वटै जिल्लामा उपस्थिति महासंघको रहेको छ। यस्तै एसोसिएसन, बस्तुगत र जिल्ला÷नगरतर्फपनि महासंघको सदस्य रहेको छ।
२१ औँ अध्यक्ष बन्दै अन्जन श्रेष्ठ
महासंघको विद्यमान विद्यान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानबाट अन्जन श्रेष्ठ २१ औँ अध्यक्ष बन्दै छन्। संशोधित विद्यान अनुसार श्रेष्ठ मात्र वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने हुन्। अबको कार्यकालपछि भने अध्यक्षको निर्वाचन प्रत्यक्षबाट हुने छ। महासंघको साधारण सभा सके लगत्तै उनी स्वतः अध्यक्ष हुनेछन्।
वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको पदावधि साधारण सभा सकिए लगत्तै सकिने र वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुनेछन्। महासंघका एक पदाधिकारीका अनुसार उपाध्यक्षहरू सहितको कार्यसमितिको निर्वाचन प्रक्रिया नै नयाँ अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सञ्चालन हुने छ।
को हुन् श्रेष्ठ
स्वतः अध्यक्ष बन्न लागेका श्रेष्ठको महासंघको यात्रा २०५९ सालबाट सुरु भएको हो। २०४५ सालबाट व्यवसायमा सक्रिय श्रेष्ठ २३ वर्षपछि उनको काँधमा अध्यक्षको जिम्मेवारी आइपुगेको हो।
कुशकुमार जोशी अध्यक्ष हुँदा श्रेष्ठ कार्यसमिति सदस्यका रूपमा महासंघ प्रवेश गरेका थिए। उनी कार्यसमिति सदस्य हुँदै महासंघका महत्त्वपूर्ण विभाग राजस्व समिति, उद्योग समिति, रोजगारदाता परिषद् सदस्य पदमा बसेर कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेका थिए।
अञ्जन व्यावसायिक घराना लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन। ग्रुपअन्तर्गत ३ हजार २ सय जनाले रोजगारी पाएका छन्।
अञ्जन पहिलो पटक कार्यसमितिमा निर्वाचित भएकै बेला राजस्व समितिको उपसभापति बनेका थिए। त्यस बेला पनि उनी रोजगारदाता परिषद् सदस्य पनि कायम थिए। उनी नौ वर्षदेखि रोजगारदाता परिषद् सदस्यका रूपमा कार्यरत थिए।
नेपालमा श्रम सम्बन्ध नराम्ररी बिग्रिएका बेला उनी रोजगारदाता परिषद् सदस्य थिए। त्यही बेला श्रम ऐन बनाउन ठुलो योगदान गरे। सरकारी निकाय, ट्रेड युनियनसँग निरन्तर वार्ता, छलफल गरेर श्रम ऐन ल्याइएको थियो। त्यसैको जगमा आज पनि रोजगारदाता र श्रमिकबिच सम्बन्ध सुमधुर भएको छ। श्रेष्ठ उपाध्यक्ष हुनुअघि उद्योग समिति सभापति पनि भए।

श्रेष्ठ ३० वर्षदेखि व्यवसायमा संग्लन छन्। अभिभावकद्वारा प्रवद्र्धित व्यवसाय चकलेट फ्याक्ट्रीलाई २०४५ सालदेखि सघाउन थालेका हुन। जो सुजल फुडबाट परिचित छ। अहिले सुजल फुड नेपालकै ठुलो कन्फेक्सनरी पनि हो। सुजल फुड साना उद्योगका रूपमा खुलेको थियो। सानाबाट मझौला बन्ने क्रममा थियो, परिवारका सदस्यले योगदान गरेर नेपालकै सबैभन्दा ठुलो उद्योग बनाए।
व्यापारमा विविधीकरण गर्नुपर्छ भनेर लक्ष्मी ग्रुप डेरी उद्योगमा प्रवेश गर्यो। सहरबाट ग्रामीण भेगमा अर्थतन्त्र लैजान प्रमुख माध्यम भनेको डेरी उद्योग हो। २० हजार लिटर क्षमताको उद्योगलाई अहिले दैनिक १ लाख ५० हजार लिटर दूध प्रशोधन गर्ने उद्योग बनाइयो।
लक्ष्मी ग्रुप प्याकेजिङ, ट्रेडिङ व्यवसायमा लाग्यो। हुन्डाई गाडीमार्फत नेपालमा व्यवसायलाई अर्को तहमा पुर्याए। पछिल्लो समय समृद्धि स्टिल, हुन्डाईको एसेम्बल प्लान्ट स्थापना गरेका छन्।