काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका डेढ दर्जन पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासका लागि पुनर्कर्जा दिने भएको छ ।
केन्द्रीय बैंकले गन्तव्य नै तोकेर केवलकार, होटल, रिसोर्टलगायत अन्य पर्यटकीय पूर्वाधार निर्माणका लागि साधारण पुनर्कर्जा दिने भएको छ ।
केन्द्रीय बैंकले ताप्लेजुङको पाथिभरा, इलामको माइपोखरी, दोलखाको भीमेश्वर र कालिञ्चोक, खोटाङको हलेसी, रसुवाको लाङटाङ, प्युठानको स्वर्गद्वारी र गोरखाको मनकामनामा पर्यटकीय पूर्वाधार बनाउने लगानीकर्तालाई पुनर्कर्जा दिने जानकारी गराएको छ ।
यस्तै मुक्तिनाथ, माथिल्लो मुस्ताङ, बाराको गढीमाई, जनकपुरधाम, सप्तरीको छिन्नमस्ता, सिन्धुपाल्चोकको पाँच पोखरी, मुगुको रारा र डोटीको खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न लगानी गर्ने राष्ट्र बैंकले तयार पारेको पुनर्कर्जा कार्यविधिको मर्स्यौदामा उल्लेख छ ।
यी क्षेत्रमा केवलकार, होटल र रिसोर्टलगायत अन्य मनोरञ्जन पूर्वाधारको विकासमा लगानीकर्ताहरुलाई केन्द्रीय बैंकले ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने छ । यी पर्यटकीय पूर्वाधारमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ प्रतिशतमा दिएर उनीहरुले बढीमा ५ प्रतिशतमा पुनर्कर्जा लगानी गर्न पाउने छन ।
मनकामना, कालिञ्चोकमा केवलकार सञ्चालनमा आइसकेको छ । विरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्न ८० किलोमिटरको विश्वकै लामो केवलकार तथा रिसोर्ट बनाउन निजी क्षेत्रबाट काम अघि बढिसकेका छ । यस्तै पाथिभरामा पनि केवलकार र रिसोर्ट बनाउनका लागि गुरुयोजना तयारी हुँदै छ ।
साधारण पुनर्कर्जा जलविद्युत परियोजना, कृषि, पशुपंक्षी तथा मत्स्यपालन, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग/व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगहरुले साधारण पुनर्कर्जा पाउने कार्यविधिमा प्रस्ताव गरिएको छ ।
कार्यविधिको मस्र्यौदामा लगातार ३ वर्षदेखि २० प्रतिशत नाफा गरेका उद्योग व्यवसायलाई पुनर्कर्जा पाउन अयोग्य सूचिमा राखिएको छ ।
राष्ट्र बैंकले पुनर्कर्जालाई विकेन्द्रीत गरी बैंकको शाखालाई नै अनिवार्य दिन बाध्यकारी बनाउने गरी कार्यविधिमा प्रस्ताव गरेको छ । लघुघरेलु तथा साना तथा मझौलाको लागि राष्ट्र बैंकले २ प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने छ । बैंकले ५ प्रतिशत ब्याजदरमा यस्तो ऋण सुविधा उपलब्ध गराउन पाउने छन ।
विशेष पुनर्कर्जा १ प्रतिशत ब्याजमा राष्ट्र बैंकले उपलब्ध गराउने छ । यसको ब्याजदर ३ प्रतिशत र साधारण पुनरकर्जा ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराएर ५ प्रतिशतसम्म ब्याज लिन पाउने प्रस्ताव कार्यविधिको मर्स्यौदामा प्रस्ताव गरिएको छ ।
यसैगरी बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा १० करोड रुपैयाँ हुने मस्र्यौदामा उल्लेख छ । यो पुनर्कर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी नहुने व्यवस्था हुन लागेको छ ।
बैंकले ग्राहक अनुसार मूल्याँकन गरी उपलव्ध गराउने साधारण पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुने व्यवस्था गर्न लागिएको छ ।
यो पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन । घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ ।
उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरडा«फ्ट, घर जग्गा, सवारी, घरायसी सामग्री, मार्जिन, सुनचाँदी, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएकालाई पुनर्कर्जा सुविधा पाइने छैन ।
यसैगरी चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग/व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग/व्यवसायलाई पनि पुनर्कर्जा सुविधा नपाउने भएका छन । केन्द्रीय बैंकले स्वीकृत गरेपछि मात्र कार्यविधि कार्यन्वयनमा आउने जानकारी दिएको छ ।