एजेन्सी। भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित व्यापारिक घराना टाटा समूहको मुख्य कम्पनी ‘टाटा सन्स’लाई सेयर बजारमा सूचीकृत गर्ने विषयमा समूहको शीर्ष व्यवस्थापनबीच मतभेद देखिएको छ। टाटा ट्रस्टका अध्यक्ष नोएल टाटा कम्पनीलाई निजी नै राख्ने पक्षमा उभिएका छन् भने अन्य प्रभावशाली ट्रस्टीहरू भारतीय रिजर्भ बैंक (आरबीआई)को नियम पालना गर्दै सार्वजनिक निष्कासन (आईपीओ) ल्याउनुपर्ने अडानमा छन्। यो विवादले टाटा समूहभित्र नयाँ हलचल पैदा गरेको छ, जसको छिनोफानो मे ८ मा बस्ने बोर्ड बैठकले गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
विवादको मुख्य जड भारतीय केन्द्रीय बैंक (आरबीआई)को नयाँ नियम हो। आरबीआईले आगामी जुलाई १, २०२६ सम्ममा टाटा सन्स जस्ता ठूला ‘नन्–बैंकिङ फाइनान्सियल कम्पनी’ (एनबिएफसी)लाई सेयर बजारमा सूचीकृत हुन अनिवार्य गरेको छ। १ लाख करोड भारुभन्दा बढी सम्पत्ति भएको टाटा सन्स यो दायरामा पर्ने भए पनि नोएल टाटा भने कम्पनीलाई निजी नै राख्न चाहन्छन्। नोएल टाटालाई सेयर बजारमा गएपछि कम्पनीहरूमाथि टाटा ट्रस्टको पकड कमजोर हुन सक्ने डर छ। यता, ट्रस्टका दुई वरिष्ठ सदस्य वेणु श्रीनिवासन र विजय सिंह भने कम्पनीमा पारदर्शिता ल्याउन र कानुनी जटिलताबाट बच्न लिस्टिङको पक्षमा देखिएका छन्।
यसअघि नोएल टाटाले टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनसँग कम्पनी सूचीकृत नगर्ने ग्यारेन्टी मागेका थिए। तर, चन्द्रशेखरनले यो विषय नियामक निकायको नियमसँग जोडिएको भन्दै त्यस्तो कुनै पनि ग्यारेन्टी दिन अस्वीकार गरिदिए। यही असमझदारीका कारण चन्द्रशेखरनको तेस्रो कार्यकालको पुनर्नियुक्तिमा हुने मतदान समेत केही समयका लागि टरेको थियो। आरबीआईले टाटा समूहका लागि नियममा कुनै विशेष छुट दिने संकेत नदिएकाले पनि समूहभित्र दबाब बढेको हो।
यदि टाटा सन्स सेयर बजारमा सूचीकृत भएमा यसको सबैभन्दा ठूलो फाइदा मिस्त्री परिवार अर्थात् ‘शापुरजी पालोनजी (एसपी) समूह’लाई हुने देखिएको छ। टाटा सन्समा १८.४ प्रतिशत हिस्सा रहेको यो समूह अहिले ठूलो ऋणमा छ। सेयर बजारमा लिस्टिङ भएपछि उनीहरूको हिस्साको वास्तविक बजार मूल्य खुल्नेछ र त्यसलाई बिक्री गरेर वा धितो राखेर उनीहरूले आफ्नो ऋण तिर्न सक्नेछन्। शापुर मिस्त्रीको सम्पत्तिको ७५ प्रतिशत हिस्सा अहिले टाटा सन्समै अड्किएको छ, जुन लिस्टिङपछि मात्र ‘अनलक’ हुनेछ।
मे ८ मा बस्ने टाटा ट्रस्टको बैठकमा वेणु श्रीनिवासन र विजय सिंहले आधिकारिक रूपमा आईपीओको प्रस्ताव लैजाने तयारी गरेका छन्। टाटा सन्सले अहिले नुनदेखि सफ्टवेयर र विलासी कारदेखि हवाई सेवासम्मका दर्जनौँ कम्पनीहरूलाई नियन्त्रण गर्दछ। यदि यो विवाद सुल्झिएर आईपीओ प्रक्रिया अघि बढेमा यो भारतको कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो सेयर निष्कासन हुने अनुमान गरिएको छ। आगामी दुई महिनाभित्र टाटा समूहले यस विषयमा ठोस निर्णय लिनुपर्ने कानुनी बाध्यता समेत रहेको छ।