काठमाडौं। अमेरिका र इरानबीच एक महिनादेखि जारी युद्धविराम एकअर्काबीच आक्रमण सुरु भएपछि फेरि भंग हुने खतरा बढेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि हालसम्म विश्व इन्धन आपूर्ति केन्द्रको मुख्य स्थल होर्मुज अवरुद्ध भएसँगै करिब १५०० बढी मालवाहक जहाज खाडी क्षेत्रका समुद्रमै ठप्प भएको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइएसओ) ले जनाएको छ।
अन्तर्राष्ट्रिय समुद्री संगठनका महासचिव आर्सेनियो डोमिंगेजले पानामामा टिप्पणीको क्रममा हाल लगभग २० हजार चालक दलका सदस्य र लगभग एक हजार ५०० जहाज खाडीमा फसेको बताएका हुन्। उनले उक्त समुद्री नाकाबाट विश्वव्यापी रूपमा खपत हुने उत्पादनको अधिकाशं ढुवानी हुने गरेको उल्लेख गरे।

चालक दलका सदस्य अन्य देशबाट हरेक दिन नियमित कामका लागि हिँडिरहेका निर्दोष व्यक्ति भूराजनीतिक परिस्थितिका कारण यस क्षेत्रमा फसेको उनको भनाइ छ।
अमेरिका र इरानबीच हर्मुज समुद्री मार्गमा भएको नयाँ सैन्य झडपपछि विश्व बजारमा ठूलो असर परेको छ। आज कच्चा तेलको मूल्य बढेको छ भने विश्वका प्रमुख सेयर बजार घटेका छन्।
युद्धकै त्रासपछि प्रतिब्यारेले ९६ अमेरिकी डलर रहेको कच्चा तेल ब्रेन्ट क्रुड १०८ अमेरिकी डलर पुगेको छ, जुन १ प्रतिशतको वृद्धि हो। यस्तै अमेरिकी कच्चा तेल कम्पनी डब्लूटीआईको मूल्य पनि उकालो लागेर प्रतिब्यारेल ९५.२२ अमेरिकी डलर पुगेको छ।
पछिल्ला केही हप्तादेखि बजारमा युद्ध चाँडै अन्त्य हुने र कच्चा तेल आपूर्ति सामान्य हुने अपेक्षामा सकारात्मक माहोल थियो, जसले गर्दा तेलको मूल्य पनि केही घटेको थियो। तर, बिहीबार अमेरिका र इरानबीच पुनः तनाव चुलिएपछि स्थिति फेरिएको हो।
अमेरिकी सेनाले तीन अमेरिकी युद्धपोतमाथि आक्रमण भएको प्रतिक्रियास्वरुप इरानी सैन्य लक्ष्यमा हवाई हमला गरेको बताइएको छ। इरानको सेनाले अमेरिका स्वयंले युद्धविराम उल्लंघन गर्दै तेल ट्यांकर र अर्को जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। यसले दुवै देशबीचको तनाव झनै बढाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत इरानले सम्झौता नगरे फेरि आक्रमण गरिने चेतावनी दिएका छन्।
अमेरिकी प्रशासनले ‘प्रोजेक्ट फ्रीडम’ नामक कार्यक्रम पुनः सुरु गर्नेबारे विचार गरिरहेको समाचार सार्वजनिक भएका छन्। यसको उद्देश्य मालवाहक जहाजलाई सुरक्षित मार्ग दिने हो।
तनाव बढेसँगै कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढी बढेको छ । पछिल्ला तीन दिनमा भने तेलको मूल्य करिब १० प्रतिशत घटेको थियो। एसियाली बजारमा पनि गिरावट देखिएको छ।
दक्षिण कोरियाको सेयर बजार १ प्रतिशतभन्दा बढी घटेको छ भने टोकियो, हङकङ, सिड्नी, सांघाई, सिंगापुर, वेलिङ्टन, ताइपेई, मनिला र जार्काताजस्ता प्रमुख बजार पनि ओरालो लागेका छन्। अमेरिकी वाल स्ट्रिटमा पनि गिरावट आएको छ। एस एन्ड पी ५०० र नास्डाक सूचकांक रेकर्ड उच्चबाट तल झरेका छन्।–एजेन्सी