काठमाडौं। ललितपुरको पुल्चोकमा पाँचतारे होटल क्राउन प्लाजा तयार भएको छ। निर्माण सुरु भएको करिब ७ वर्षपछि चौधरी ग्रुपअन्तर्गतको सिजी होल्डिङसले निर्माण गरेको पाँचतारे होटल २०२६ को नोभेम्बरबाट सञ्चालनमा आउने गरी तयार भएको हो।
२०७६ साल वैशाखमा शिलन्यास गरी निर्माण सुरु भएको होटल कोभिड १९ र त्यसपछि उत्पन्न आर्थिक मन्दीलगायतको समस्याबाट गुज्रिँदै निर्धारित समयमाभन्दा ढिला सम्पन्न भएको सिजी होल्डिङसका एक उच्च अधिकारीको भनाइ छ।
नोभेम्बरमा ग्राण्ड ओपनिङ गर्ने तयारी गरेको होटलले महाप्रबन्धकसहित सबै कर्मचारीहरु नियुक्त गरेर आन्तरिक कामहरु गरिरहेको छ। होटलमा १७५ वटा कोठाहरु छन्। तीमध्ये एउटा प्रेसिडेन्टल सुइट, चार वटा एजुकेटीभ सुइट, ८ वटा जुनियर सुइट, २ वटा अपांगमैत्री कोठा, ६२ वटा स्टाण्डर टुइन र ९८ वटा स्टाण्डर किङ साइजको कोठाहरु रहेको छ।
९ रोपनी क्षेत्रफलमा फैलिएको होटलको सुरुवाती लगानीको अनुमान २ अर्ब ५५ करोड गरिएको थियो। त्यस्तै १७० वटा कोठा निर्माण गर्ने भनिएको थियो। तर, अहिले ५ वटा कोठा थप भएको छ।
‘निर्माणको समय लम्बिएको, निर्माण सामाग्रीको मूल्य बढेको र कोठासमेत थपिएकाले लागत बढेको छ,’ ती अधिकारीले क्यापिटलसँग भने, ‘केही समयपछि होटल सञ्चालनको औपचारिक जानकारी दिने बेलामा सबै जानकारी दिनेछौँ।’
होटलमा रुफटप स्वीमिङ पुल, २४ सैँ घण्टा सेवा उपलब्ध गराउने रेष्टुरेन्ट, बार, व्यायामशाला, बिजनेश सेन्टर, सम्मेलन कक्ष, भूमिगत पार्किङ सुविधासमेत रहेको छ।
क्राउन प्लाजा काठमाडौं पुल्चोकले नेपालको समृद्ध सांस्कृतिक सम्पदाको साथ आधुनिक भव्यतालाई सहज रूपमा मिसाउने जनाएको छ। भव्य काठमाडौं उपत्यकाभित्रको जीवन्त ललितपुरमा बनेको होटलले प्रमुख व्यावसायिक केन्द्रहरू र पाटन दरबार स्क्वायर, संग्रहालय र ठमेलमा सहजै जान सक्ने उल्लेख गरेको छ।
चौधरी ग्रुपअन्तर्गतको सिजी होल्डिङस अरुण चौधरीको स्वामित्वमा रहेको छ। सिजी होल्डिङसले पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा आक्रामक लगानी विस्तार गरिरहेको छ। २०२६ मा नगरकोटमा बुटिक होटल भंगेरी दरबार सञ्चालनमा ल्याइसकेका छन्।
यद्यपि, सो होटलको पनि ग्राण्ड ओपनिङ हुन सकेको छैन। यसरी २०२६ मा मात्र सिजीको एक साथ दुई वटा होटल सञ्चालनमा आउने निश्चित भएको छ। यस्तै त्रिपुरेश्वरमा पनि अर्को होटल निर्माणधीन अवस्थामा छ। हाल बूढानीलकण्ठमा मिराकी र चितवनमा टाइगरल्याण्ड रिसोर्ट सञ्चालन गरिरहेको छ।
सोल्टीबाट बाहिरिएपछि सिजीसँग मिलन
२६ वर्षसम्म पाँचतारे होटल सोल्टीको व्यवस्थापन सम्हालेर नेपालबाट बाहिरिएको बेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आइएचजी)ले सिजी होल्डिङसको व्यवस्थापन सम्हालिसकेको छ। सोल्टीबाट बाहिरिएको केही वर्षपछि आइएचजीसिजीसँग जोडिएको हो। सहमतिअनुसार क्राउन प्जाला न म राखिएको जनाएको छ।
आइएचजीअन्तर्गतको क्राउन प्लाजा ब्राण्डमा विश्वभर १०० देशमा ४०० होटलहरु सञ्चालनमा रहेको छ। आइएचजी ग्रुपअन्तर्गत २० वटा ब्राण्डहरु रहेको छ। ती ब्राण्डहरुको नाममा विश्वभर ६ हजार ६०० वटा होटलहरु सञ्चालनमा रहँदै आएको छ।