काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी आर्थिक अनिश्चितता, आपूर्ति श्रृंखलामा देखिएको अवरोध र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्व अर्थतन्त्र दबाबमा परेको भन्दै नागरिकलाई जिम्मेवार जीवनशैली अपनाउन आग्रह गरेका छन्।
आइतबार हैदराबादमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले भारतलाई आर्थिक रूपमा बलियो बनाउन सामूहिक सहभागिता आवश्यक रहेको बताएका हुन्। प्रधानमन्त्री मोदीले देशभक्तिको अर्थ केवल देशका लागि बलिदान दिनु मात्र नभई कठिन समयमा अनुशासित र जिम्मेवार जीवन बिताउनु पनि भएको उल्लेख गरे।
उनले नागरिकलाई एक वर्षसम्म अनावश्यक सुन खरिद नगर्न आग्रह गर्दै यसबाट विदेशी मुद्राको अनावश्यक बाहिर्गमन रोक्न सकिने बताए। उनले पेट्रोलियम पदार्थको खपत घटाउन सार्वजनिक यातायात, मेट्रो तथा कार–पुलिङको प्रयोग बढाउन सुझाव दिए। मालवाहक ढुवानीका लागि रेल यातायातलाई प्राथमिकता दिन र विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्न पनि उनले आग्रह गरे। कोभिड–१९ महामारीका समयमा अपनाइएका ‘वर्क फ्रम होम’, अनलाइन सम्मेलन र भर्चुअल बैठकजस्ता अभ्यास पुनः प्रभावकारी हुन सक्ने उल्लेख गर्दै उनले यस्ता उपायले इन्धन खपत कम गर्न मद्दत गर्ने बताए।
प्रधानमन्त्री मोदीले नागरिकलाई अनावश्यक विदेश भ्रमण, विदेशमा छुट्टी मनाउने तथा विदेशमै समारोह आयोजना गर्ने प्रवृत्ति घटाउन आग्रह गर्दै स्वदेशभित्रकै पर्यटन र उत्सवलाई प्राथमिकता दिन सुझाव दिए। यसले घरेलु अर्थतन्त्रलाई थप मजबुत बनाउने उनको भनाइ थियो। उनले जुत्ता, झोला लगायत दैनिक उपभोग्य सामग्रीमा ‘मेड इन इन्डिया’ उत्पादन प्रयोग गर्न आग्रह गर्दै यसबाट रोजगारी वृद्धि हुनुका साथै आयातमा निर्भरता घट्ने बताए। साथै खाने तेलको खपत कम गर्न पनि उनले नागरिकलाई अपिल गरे।
कृषि क्षेत्रतर्फ प्रधानमन्त्री मोदीले किसानलाई रासायनिक मलको प्रयोग ५० प्रतिशतसम्म घटाएर प्राकृतिक खेती अपनाउन आग्रह गरेका छन्। उनले डिजेलबाट चल्ने सिँचाइ पम्पको सट्टा सौर्य ऊर्जाबाट चल्ने पम्प प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले नागरिकका साना–साना प्रयासले पनि देशलाई ठूलो शक्ति दिन सक्ने उल्लेख गर्दै यी सबै उपायले भारतलाई आत्मनिर्भरतातर्फ थप तीव्र गतिमा अघि बढाउने विश्वास व्यक्त गरे।