काठमाडाैं। अमेरिका र इरानबीचको सैन्य तथा कूटनीतिक घटनाक्रमसँग ठीक मिल्ने गरी अन्तर्राष्ट्रिय तेल बजारमा अर्बौं डलरका संदिग्ध कारोबार भएको खुलासा भएको छ। रोयटर्सको विस्तृत विश्लेषणअनुसार यस्ता कारोबारको कुल रकम ७ अर्ब अमेरिकी डलर पुगेको छ, जुन पहिलेको अनुमानभन्दा कैयौं गुणा बढी हो।
यी संदिग्ध कारोबारहरू चार विशेष दिनमा भएका थिए र प्रत्येक पटक कुनै महत्त्वपूर्ण सरकारी घोषणाभन्दा १५ देखि २० मिनेट अगाडि मात्र ठूलो परिमाणमा तेल फ्युचर्स बेचिएको थियो। मार्च २३ मा राष्ट्रपति डाेनाल्ट ट्रम्पले इरानी पूर्वाधारमा हमला स्थगित गरेको घोषणा गर्नुभन्दा ठीक अगाडि करिब २.२ अर्ब डलरको कारोबार भयो र घोषणापछि कच्चा तेलको मूल्य एकै दिनमा १५ प्रतिशतले गिर्यो। त्यसपछि अप्रिल ७ मा अमेरिका–इरान दुई हप्ते युद्धविरामको घोषणाभन्दा अगाडि एकै मिनेटमा २.१२ अर्ब डलरको तेल बेचियो।
अप्रिल १७ मा इरानी विदेशमन्त्रीले होर्मुज जलसाँध खुला भएको घोषणा गर्नुभन्दा केही मिनेट अगाडि थप २ अर्ब डलरको कारोबार भयो भने अप्रिल २१ मा ट्रम्पले अनिश्चितकालीन युद्धविराम घोषणा गर्नुभन्दा १५ मिनेट अगाडि करिब ८३ करोड डलरको तेल बेचिएको थियो। यी सबै कारोबारहरू बजारमा तरलता कम हुने समयमा भएका थिए, जसले यिनलाई झनै असामान्य बनाउँछ।
अनलाइन भविष्यवाणी बजारमा पनि यस्तै संदिग्ध गतिविधि देखिएको छ। फेब्रुअरी २७ मा अमेरिकाले इरानमा हमला गर्नुभन्दा ७१ मिनेट अगाडि "म्यागामीमम" नामक एक अज्ञात प्रयोगकर्ताले सर्वोच्च नेता खामेनीको सत्ताच्युतिमा दाउ लगाएर करिब ८७,००० डलरबाट ५,३३,००० डलरभन्दा बढी कमाएको थियो। यस्तै १५० भन्दा बढी नयाँ खाताहरूले ९३ प्रतिशतसम्मको जित दर हासिल गरेका थिए, जुन संयोग मात्र हुन सक्दैन भन्ने विश्लेषकहरूको भनाइ छ।
अमेरिकी सिनेटर एलिजाबेथ वारेनलगायत कानुन निर्माताहरूले यी कारोबारहरूमा भित्री सूचनाको दुरुपयोग भएको भन्दै कडा छानबिनको माग गरेका छन्। न्याय विभाग र सीएफटीसीले अनुसन्धान थालेको बताइए पनि विशेषज्ञहरू सफल नतिजाप्रति आशावादी छैनन्। सार्वजनिक नागरिकका लबिइस्ट क्रेग होल्म्यानका अनुसार सीएफटीसीको शिकागो कार्यालयमा कारबाही शून्यमा झरेको छ र धेरै अनुसन्धान अधिकारीहरू राजीनामा दिइसकेका छन्। पाेलिमार्केट रकलशी जस्ता अनलाइन भविष्यवाणी मञ्चहरूमा इनसाइडर ट्रेडिङको कानुनी परिभाषा नै अस्पष्ट भएकाले यस्ता गतिविधि पत्ता लगाउन झनै कठिन हुँदै गएको विज्ञहरू बताउँछन्।