काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ कोे नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धार्मिक, सांस्कृतिक, आरोग्य, चलचित्र र साहसिक पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको बताए।
सरकारले नीति तथा कार्यक्रममार्फत हवाई सेवालाई भरपर्दो बनाउनुका साथै पर्यटन क्षेत्रलाई डिजिटल प्रणालीमा लैजाने जनाएको छ । सरकारले हवाई पूर्वाधार विस्तार र अन्तरराष्ट्रिय विमानस्थलको पूर्णसञ्चालनलाई प्राथमिकतामा राखेको छ।
त्यस्तै, नागरिक उड्डयान क्षेत्रमा संरचनात्मक सुधार गर्दै निजी क्षेत्रको सहभागिता बढाउने र अन्तरराष्ट्रिय सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने सरकारको लक्ष्य छ। भैरहवास्थित गौतबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा थप अन्तरााष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
यसैगरी पर्यटन सेवालाई सहज बनाउन पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिने जनाइएको छ। अध्यागमन विन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउन ‘एक द्वार डिजिटल पर्यटन प्रणाली’ लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले विसं २०८५ लाई ‘भिजिट नेपाल’ वर्षका रूपमा मनाउने तयारी गर्दै पर्यटकको आगमन, खर्च र बसाइँ अवधि बढाउने लक्ष्य लिएको छ।
यस्तै, नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापना गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ। पर्वतीय पर्यटनको सुरक्षाका लागि खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिने नीति सरकारले सार्वजनिक गरेको छ।
साहसिक पर्यटनका लागि प्याराग्लाइडिङ, बन्जीजम्प, स्काई डाइभिङलगायत गतिविधिमार्फत पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तीमा १० वटा नयाँ पदमार्ग पहिचान गरी सञ्चालनमा ल्याइनेछ।
नेपाल पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी ढाँचामा पुनर्संरचना गरी थप नवप्रवर्तनशील बनाउने योजना सरकारले अघि सारेको छ। कर्णाली, सुदूरपश्चिम, मधेस र कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्यलाई विशेष प्राथमिकता दिँदै पर्यटन इकोसिस्टमको विकास गरिने नीतिमा उल्लेख छ।