काठमाडौं। नेपाली पर्यटन क्षेत्रका नेतृत्वकर्ता व्यवसायी सुमन पाण्डेले अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रको सर्वोच्च सम्मान प्राप्त गरेका छन्। प्रशान्त क्षेत्र पर्यटन संघ (पाटा) इन्टरनेसनलले पाण्डेलाई दक्षिण कोरियामा हालै सम्पन्न साधारणसभा अवसरमा पाण्डेलाई संस्थाको सबैभन्दा मर्यादित पद ‘आजीवन सदस्य’ बाट सम्मानित गरेको हो।
पाटाको सात दशक लामो इतिहासमा आजीवन सदस्यता पाउनुलाई असाधारण उपलब्धिको रूपमा हेरिन्छ। यो सम्मान पाटामा दशकौँसम्म निस्वार्थ सेवा गर्ने र विश्व पर्यटनको मानचित्रमा छाप छोड्न सफल विशिष्ट व्यक्तित्वहरूलाई मात्र प्रदान गर्ने गरिन्छ।
यो सम्मान प्राप्त गरेसँगै पाण्डे अब पाटाको उच्चतम सल्लाहकार परिषद् सदस्यसमेत बनेका छन्। संस्थाको नीति निर्माण र विश्वव्यापी रणनीति तय गर्न अब उनको भूमिका थप निर्णायक हुनेछ। विशेषगरी पर्यटन क्षेत्रमा असाधारण योगदान पुर्याउने र लामो समयसम्म नेतृत्वदायी तहमा रहेर संस्थालाई मार्गनिर्देशन गर्ने व्यक्तिका लागि मात्र यो सम्मानको ढोका खुल्ने गर्दछ।
पाण्डे विगत ६ वर्षदेखि पाटा अन्तर्राष्ट्रियको केन्द्रीय तहमा रहेर पुर्याएको सक्रिय योगदान र उनको कार्यक्षमताको उचित कदर गर्दै संस्थाले सम्मानित गरेको हो।
पाण्डे पाटासँगको व्यावसायिक यात्रा सन् २०१३ बाट थप उचाइमा पुगेको देखिन्छ । उनले सन् २०१३ देखि २०१७ सम्म पाटा नेपाल च्याप्टरको १२औँ अध्यक्षको रूपमा कार्यभार सम्हाल्दै नेपाली पर्यटनलाई विश्व बजारमा पुर्याउन सघाएका थिए।
पाण्डेले सन् २०२० देखि २०२४ सम्म लगातार दुई कार्यकाल पाटा अन्तर्राष्ट्रियको सचिव, कोषाध्यक्ष जस्तो जिम्मेवार पद सम्हाल्दै संस्थाको आर्थिक र प्रशासनिक सुदृढीकरणमा महतवपूर्ण भूमिका खेलेका छन्। नेपालमा यसअघि उक्त अवार्डबाट स्व. प्रभाकरशमशेर राणा, वसन्त मिश्र र आरआर पाण्डे सम्मानित भएका थिए।
पाण्डे राजनीतिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट २ बाट उम्मेदवार बनेका थिए भने हाल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पर्यटन तथा संस्कृति विभाग प्रमुखको रूपमा नीतिगत सुधारका कार्यमा समेत संलग्न छन्।