काठमाडौं। विश्वकै चर्चित सामाजिक सञ्जाल फेसबुक (अहिलेको मेटा)का संस्थापक तथा सीईओ मार्क जुकरबर्ग मे १४ अर्थात आजदेखि ४२ वर्षमा प्रवेश गरेका छन्। सन् १९८४ मा अमेरिकाको न्यूयोर्कमा जन्मिएका जुकरबर्गले प्रविधिको क्षेत्रमा ल्याएको क्रान्तिले विश्वव्यापी सञ्चार र सामाजिक सम्बन्धको परिभाषा बदल्न अस्त्र बनाएका हुन्।
हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत छँदा सन् २००४ मा आफ्ना साथीहरूसँग मिलेर जुकरबर्गले ‘द फेसबुक’को सुरुवात गरेका थिए। सुरुमा कलेजका विद्यार्थीहरूलाई जोड्ने उद्देश्यले बनाइएको यो प्लेटफर्म अहिले विश्वकै ठूलो सामाजिक सञ्जाल बनेको छ। जसमा अर्बौं प्रयोगकर्ताहरू छन्।
जुकरबर्गको सफल व्यावसायिक यात्राका विभिन्न महत्वपूर्ण आयमहरू छन्। उनले फेसबुकलाई सामान्य सामाजिक सञ्जालको घेराभन्दा माथि उठाएर इन्स्टाग्राम र ह्वाट्सएप जस्ता विश्वप्रसिद्ध प्लेटफर्महरूलाई ‘मेटा’ नामको एउटै विशाल साम्राज्यभित्र समेट्न सफल भए।
जुन उनको पहिचान बनाउनका लागि कोसेढुंगा बनेको हो। हाल उनी मेटाभर्सको अवधारणामार्फत मानिसहरूलाई भर्चुअल संसारमा जोड्ने भविष्यको प्रविधि निर्माणमा निकै सक्रियताका साथ लागेका छन्।
प्रविधिको क्षेत्रमा मात्र नभई आर्थिक रूपमा पनि उनी विश्वकै प्रभावशाली व्यक्ति हुन्। संसारकै सबैभन्दा कम उमेरमा अर्बपतिको सूचीमा नाम दर्ता गराएर उनले विश्वभरका युवा उद्यमीका लागि एउटा बलियो प्रेरणाको स्रोत बनेका छन्।
फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वको धनाढ्य सूचीमा पर्दै आएका छन्। ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति २१९ अर्ब डलर (झण्डै ३०० खर्ब रुपैयाँ) भन्दा माथि छ।
उनले आफ्नी श्रीमती प्रिन्सिला च्यानसँग मिलेर ‘च्यान जुकरबर्ग इनिसिएटिभ’ स्थापना गरेका छन्। जसमार्फत उनले आफ्नो सम्पत्तिको ९९ प्रतिशत हिस्सा शिक्षा, स्वास्थ्य र विज्ञानको विकासमा खर्च गर्ने र विश्वका ठूला समस्या समाधान गर्ने परोपकारी संकल्प गरेका छन्।
जुकरबर्गको ४२औँ जन्मजयन्तीको अवसरमा विश्वभरका प्रविधिप्रेमी र उद्यमीहरूले उनलाई शुभकामना शुभेक्षा दिइरहेका छन्। पछिल्लो समय उनी आर्टिफिसियल इन्टेलिजेन्स र थ्रेड्स जस्ता नयाँ प्रविधिहरूमा केन्द्रित रहेर प्रविधि जगतमा आफ्नो प्रभुत्व कायम र दिनप्रति दिन शक्तिशाली बन्दै गइरहेका छन्।
को हुन जुकरबर्ग?
इन्भेष्टोपिडियाका अनुसार मे महिनाको १४, १९८४ मा मार्क जुकरबर्ग न्यूयोर्कको व्हाइट प्लेन्समा जन्मिएका थिए। बाल्यकालमा उनले कम्प्युटरप्रति लगाव देखाए। उनी नजिकैको कलेजमा बेसिक प्रोग्रामिङ भाषा सिके। १२ वर्षको उमेरमा उनले सन्देश सेवा एप विकास गरे गरेका थिए।
जुकरबर्गले हार्वर्ड युनिभर्सिटीमा प्रवेश गरे। तर, दोस्रो वर्षपछि फेसबुक विकासमा केन्द्रित हुन ड्रपआउट गरे। यो साइट दुई पुराना परियोजनाबाट विकसित भएको थियो। फेसमास, जसले हार्वर्डका अन्य विद्यार्थीहरूको आकर्षणताको र्याकिङ गर्ने वेबसाइट थियो। सन् २००४ मा, हार्वर्डकनेक्सन.कमका तीन मुख्य संस्थापकहरू क्यामरन र टायलर विङलभोस र दिव्या नरेन्द्रले जुकरबर्गलाई वेबसाइटबाट बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए।
तर, उनीहरूले सन् २००८ मा नगद र स्टक विकल्पहरूसहित डलरको सम्झौता गरेका हुन्। विङलभोस जुम्लाहरूले सन् २०११ मा मुद्दा फेरि खोल्ने प्रयास गरे। तर, अदालतले अस्वीकार गरेको प्रसंग इन्भेष्टोपिडियामा उल्लेख छ।
सन् २००५ को मध्यमा, फेसबुकले १२ दशमलव ७ मिलियन डलर भेन्चर क्यापिटल उठायो। सयौं विश्वविद्यालय तथा हाइस्कुलमा पहुँच विस्तार गर्यो। एक वर्षपछि यो सामाजिक सञ्जाल सबैका लागि खुला भयो। योसँगै याहुले कम्पनी किन्न एक बिलियन डलरको प्रस्ताव राख्यो। जसलाई जुकरबर्गले अस्वीकार गरे।
सन् २०१२ मा फेसबुकले सार्वजनिक शेयर बिक्री गरेर १६ बिलियन डलर उठाएर इन्टरनेट इतिहासको सबैभन्दा सफल आईपीओ बन्यो। त्यही वर्ष फेसबुकले इन्स्टाग्राम एक बिलियन डलरमा किन्यो। योसँगै आईपीओको निकालेको भोलिपल्ट जुकरबर्गले प्रशिला चानसँग सरप्राइज तरिकाले विवाह गरे।
पछिल्लो केही समययता मेटाले धेरै कम्पनीहरु खरिद गरेको छ। जसअन्तगर्त २०१२ मा इन्स्टाग्राम एक बिलियन डलरमा, २०१४ मा व्हाट्सएप २२ बिलियन डलर नगद र सेयरमा, ओकुलस भिआर २ बिलियन डलरमा र एआईदेखि परिचय प्लेटफर्मसम्मका अन्य कम्पनीहरू रहेका छन्।