काठमाडाैं। चौथो औद्योगिक क्रान्तिका लागि आवश्यक प्रविधि र डिजिटल सीप सिकाउँदै आएको सामसङ इनोभेसन क्याम्पस र पुल्चोक क्याम्पसको संयुक्त आयोजनामा सञ्चालित कोडिङ तथा प्रोग्रामिङ कोर्स पूरा गरेका ५४ विद्यार्थीलाई सम्मानित गरिएको छ। सामसङ नेपालले आज ललितपुरस्थित पुल्चोक क्याम्पसमा आयोजित एक कार्यक्रममार्फत उनीहरूलाई सम्मान गरेको हो।
सामसङका अनुसार यस कार्यक्रमले नेपाली युवालाई नयाँ प्रविधिसम्बन्धी ज्ञान, व्यावहारिक सीप, उद्योगसँगको प्रत्यक्ष अनुभव तथा करिअर मार्गदर्शन उपलब्ध गराई रोजगारीका अवसर बढाउन सघाउ पुर्याउँछ। गत डिसेम्बर २२, २०२५ देखि जुन ३०, २०२६ सम्म सञ्चालित यस तालिममा सहभागी विद्यार्थीहरूलाई विभिन्न नयाँ सीप र प्रविधिबारे पढाइएको थियो।
कार्यक्रम सफलतापूर्वक पूरा गरेका ५४ विद्यार्थीलाई विशेष समारोहमार्फत सम्मान गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने १० विद्यार्थीलाई प्रमाणपत्रसहित थप सम्मान गरिएको थियो।
यस अवसरमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यले सामसङले हाम्रा विद्यार्थीहरूलाई केवल आर्थिक सहयोग मात्र गरेको छैन, कक्षाकोठाको पढाइभन्दा बाहिर व्यावहारिक ज्ञान र अतिरिक्त सीप हासिल गर्ने अवसर पनि प्रदान गर्दै आएको बताए। उनका अनुसार इन्जिनियरिङ संकायले विद्यार्थीहरूको उज्ज्वल भविष्य र संस्थानको प्रगतिका लागि विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग समझदारी पत्रमा हस्ताक्षर गर्ने जस्ता रचनात्मक पहलहरू गर्दै आएको छ। "आज हाम्रा इन्जिनियरिङका विद्यार्थीहरू विभिन्न नामी कम्पनीमा व्यावहारिक अभ्यास र इन्टर्नसिप गरिरहेका छन् भन्न पाउँदा गर्व लाग्छ। धेरै कम्पनीसँगको हाम्रो सम्झौताले विद्यार्थी र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाएको छ," बज्राचार्यले भने।

सामसङ इनोभेसन क्याम्पस नवप्रवर्तनमा विश्वास गर्ने संस्था भएको बताउँदै सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नेपाली युवायुवतीमा उच्च क्षमता रहेको उल्लेख गरे। उनका अनुसार कृत्रिम बुद्धिमत्ताले विश्वका सबै उद्योगलाई रूपान्तरण गरिरहेको वर्तमान अवस्थामा डिजिटल जनशक्ति विकास झनै महत्त्वपूर्ण बनेको छ। "युवालाई आवश्यक सीप, आत्मविश्वास र नवीन सोच प्रदान गर्दै हामी नेपालको डिजिटल भविष्य निर्माणमा योगदान पुर्याइरहेका छौँ," उनले भने। "सामसङ इनोभेसन क्याम्पस केवल प्रविधि सिकाउने थलो मात्र होइन, यो सिर्जनशील सोच भएका, जिम्मेवार र समाजमा सार्थक योगदान दिन सक्ने नवप्रवर्तनकारीहरू तयार पार्ने अभियान हो। उद्योगले एक्लै नवप्रवर्तन हासिल गर्न सक्दैन; यसका लागि विश्वविद्यालय, उद्योग, सरकार र प्रतिभाशाली युवाबीच बलियो सहकार्य आवश्यक हुन्छ। यस कार्यक्रमलाई सफल बनाउने त्रिभुवन विश्वविद्यालय, पुल्चोक क्याम्पसका प्राध्यापकहरू र सम्पूर्ण साझेदारप्रति म हार्दिक आभार व्यक्त गर्दछु," चाङ उक जङले थपे।
उनले साथै सामसङ र इनोभेसन क्याम्पसबीचको सम्बन्ध विद्यार्थी स्नातक भएपछि समाप्त नहुने बताए। "हामी हाम्रा पूर्वविद्यार्थीसँग निरन्तर जोडिएर उनीहरूको व्यावसायिक यात्रालाई नियाल्न र देशका लागि दिने योगदानको सफलता मनाउन चाहन्छौँ। अगाडि बढ्दै, सामसङले हाम्रा कर्मचारी तथा उद्योग विज्ञहरूलाई विद्यार्थीसँग जोडेर मेन्टरसिप र मार्गदर्शनका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ। नवप्रवर्तन परियोजना, व्यावहारिक व्यावसायिक चुनौती र करिअर विकास कार्यक्रमहरूमार्फत हामी एकअर्काबाट सिक्दै सँगै अगाडि बढ्न चाहन्छौँ," उनले भने।
कार्यक्रमबाट उत्कृष्ट नतिजा ल्याई सम्मानित हुनेमध्ये प्रथम स्थान हासिल गर्ने इलेक्ट्रिकल इन्जिनियरिङकी विद्यार्थी साया पराजुलीले इलेक्ट्रिकल इन्जिनियरहरूका लागि सामसङले प्रदान गर्ने एडभान्स एआई र मेसिन लर्निङ पाठ्यक्रमहरूमा पहुँच थप बढाउनुपर्ने बताइन्। "आधुनिक प्रविधिसँग अद्यावधिक रहन इलेक्ट्रिकल इन्जिनियरहरूका लागि एआई सिक्नु अब विकल्प मात्र होइन, आवश्यकता भइसकेको छ। सबै क्षेत्रका विद्यार्थीको यस्ता विषयमा पहुँच बढाउँदा उनीहरू भविष्यका प्राविधिक माग पूरा गर्न पूर्ण सक्षम हुनेछन्," उनले थपिन्।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शंकरप्रसाद खनाल, त्रिभुवन विश्वविद्यालय कलेज अफ इन्जिनियरिङका डिन सुशीलबहादुर बज्राचार्य, सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङ, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रमुख अजयकुमार झा लगायत प्राध्यापक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
सामसुङ इनोभेसन क्याम्पस कहिलेदेखि सुरु भयो?
सामसङको वैश्विक सामाजिक उत्तरदायित्व पहल "टुगेदर फर टुमरो, इनेब्लिङ पिपल" अन्तर्गत सन् २०२३ देखि नेपालमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसबाट धेरै नेपाली इन्जिनियरिङ र आईटी विद्यार्थीले एआई, बिग डेटा र कोडिङको ६ महिने तालिम सफलतापूर्वक पूरा गरिसकेका छन्। यसले सूचना प्रविधि तथा उदीयमान प्रविधिमा उद्योगसँग सम्बन्धित सीप विकास गराउँदै आएको छ।

सामसुङ इनोभेसन क्याम्पस के हो?
सामसङ इनोभेसन क्याम्पस सामसङ कम्पनीको वैश्विक सामाजिक उत्तरदायित्व पहल हो, जसले युवालाई आधुनिक सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा व्यावहारिक र उच्चस्तरीय दक्षता प्रदान गर्दछ। यस कार्यक्रम अन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई), बिग डेटा, कोडिङ तथा प्रोग्रामिङ, र इन्टरनेट अफ थिङ्स जस्ता अत्याधुनिक प्रविधिबारे व्यावहारिक तालिम दिइन्छ। नेपालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँगको सहकार्यमा यो कार्यक्रम विगत केही वर्षदेखि सञ्चालित हुँदै आएको छ।