काठमाडौं। नेपाल टेलिकम दूरसञ्चार कार्यालय चाबहिलले होटल तथा पर्यटन व्यवसायीसँग अन्तरक्रिया सम्पन्न गरेको छ। होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित छलफलमा दूरसञ्चार सेवा विस्तार, पर्यटन क्षेत्रमा डिजिटल सेवा प्रवर्द्धन तथा ग्राहक सन्तुष्टि विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय बागमती प्रदेशका प्रमुख इन्दल यादवले टेलिकम राष्ट्रको मात्र नभई सबै नेपालीको साझा संस्था भएको बताए। उनले टेलिकमले नाफामुखी व्यवसायभन्दा सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै देशका दुर्गम तथा विकट क्षेत्रसम्म पहुँच विस्तार गरिरहेको उल्लेख गरे।
उनले विपद् तथा आपत्कालीन अवस्थामा नेपाल टेलिकमले निःशुल्क सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै आगामी दिनमा सेवाको गुणस्तरमा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे। ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै डिजिटल नेपाल अभियानलाई प्रभावकारी बनाउन प्रविधिमैत्री सेवा विस्तार भइरहेको पनि उनले बताए।
टेलिकम चाबहिल कार्यालय प्रमुख सुनीलकुमार मिश्रले होटल तथा पर्यटन क्षेत्रलाई लक्षित गर्दै स्मार्ट सेवा विस्तार गर्न लागिएको जानकारी दिए। उनले प्रतिस्पर्धी सेवाप्रदायकभन्दा प्रभावकारी र दीर्घकालीन ‘स्मार्ट हस्पिटालिटी इकोसिस्टम’ निर्माणका लागि व्यवसायीसँग सहकार्य गर्न चाहेको बताए।
उनका अनुसार नेपाल टेलिकमले पछिल्लो समय फोरजी सेवा विस्तार, फाइभजी परीक्षण, फाइबर इन्टरनेट विस्तार तथा डिजिटल ग्राहक सेवामा सुधार गर्दै आएको छ। पर्यटक र व्यवसायीलाई सहज हुने गरी विशेष सेवा प्याकेज तथा डिजिटल समाधानका विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए।
कार्यक्रममा होटल व्यवसायी महासंघका प्रशासन उपाध्यक्ष ज्ञानु गजमेर, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, महासंघका केन्द्रीय सदस्य ऋषिकुमार चौलागाईं, होटल तथा पर्यटन ब्यवसायी संघ बागमती प्रदेश सचिवालय सदस्य संजीव श्रेष्ठ, जिल्ला होटल व्यवसायी संघ काठमाडौं का उपाध्यक्ष महेन्द्र राई, सचिव लालबहादुर बानियाँ, सचिवालय सदस्य खेमराज उप्रेती तथा एकता होटल तथा गेस्ट हाउस व्यवसायी संघ नेपालका अध्यक्ष सरोज आलेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा मोबाइल सेवा प्रभावकारी नभएको गुनासो गरे। उनले पर्यटकलाई लक्षित छुट्टै सिम सेवा, बहुभाषिक भ्वाइस सेवा तथा होटलसम्बन्धी सूचना र विज्ञापन प्रसारणलाई थप सरल बनाउन नेपाल टेलिकमसँग आग्रह गरे।
बरालले देशभरका धार्मिक तथा पर्यटकीय क्षेत्रमा टेलिकमका टावर र डाटा सेवा प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याए। उनले होटल व्यवसायी र विदेशी पर्यटकलाई लक्षित विशेष सिम सेवा उपलब्ध गराउनुपर्ने तथा टेलिकमले प्रदान गर्ने सूचना प्रणालीमा नेपाली र अंग्रेजीसँगै हिन्दी तथा चिनियाँ भाषासमेत समावेश गर्नुपर्ने धारणा राखे।
उनले पर्यटन तथा धार्मिक क्षेत्रमा बिजुलीका पोलमा जथाभावी रहेका अव्यवस्थित तार हटाई सहरलाई व्यवस्थित र स्वच्छ बनाउनुपर्ने बताए। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित यात्रु सहायता कक्षमा टेलिफोन तथा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन नेपाल टेलिकमसँग आग्रह समेत गरे।
कार्यक्रममा सहभागी व्यवसायीले पर्यटन क्षेत्रको आवश्यकताअनुसार भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।