बागलुङका यामप्रसाद कँडेल एक गैरसरकारी संस्थामा काम गर्दै गर्दा रेष्टुरेन्ट चलाउँथे । गैरसरकारी संस्थामा काम गर्दा उनले स्वरोजगार तालिमको समन्वय गरे । स्वरोजगार तालिममा दालमोठ बनाउन सिकाउन तालिम दिने र लिनेलाई समन्वय गर्दा कँडेलले रेष्टुरेन्टमा आउने ग्राहकलाई पनि स्न्याक्सको रुपमा आफैले बनाएको दालमोठ दिन थाले ।
त्यहि स्न्याक्सको स्वाद अहिले धवलागिरि अञ्चलका चार जिल्लामा मात्र होइन विस्तारै नेपालभर फैलिदैं छ । तालिम र रेष्टुरेन्टमा घरेलु रुपमा उत्पादन गरेको दालमोठ खरिद गर्न ग्राहकहरु खोजी खोजी आउन थालेपछि कँडेलले बागलुङ बजारकै पसल पसल डुलेर दालमोठको बजार संभाव्यता अध्ययन गरे ।

बजारमा भारतीय ब्रान्डदेखि वीरगंज, भैरहवाका उत्पादनहरु आउने र त्यसले बजार लिने गरेको देखेपछि गैरसरकारी संस्थाको जागिर छोडे, होटल बेचे र २०६८ पुस ७ गते १५ लाखको लगानीमा सुरु गरे मनसुन दालमोठ उद्योग ।
कँडेलले सोचेभन्दा पनि तीव्र रुपमा मनसुन दालमोठका उत्पादनहरुले बजार लिन थाल्यो । कँडेलले दालमोठकै विभिन्न उत्पादन, भूजा, फुरनदाना, चिउरा, चनाको बेसनलगायत विभिन्न उत्पादन थाले । गाउँको मकैलाई भुटेर प्याक गरे बजार पठाएपछि त्यसको ‘रेस्पोन्स’ अरुभन्दा बढि पाए । अहिले सबैभन्दा बढि माग मकैको छ ।
‘मनसुन दालमोठ उद्योगमा १४ प्रकारका उत्पादन हुन्छ, दालमोठ, भूजा, मकैलगायतका उत्पादन गरेर बजारमा पठाइरहेका छौं,’ कँडेलले भने । सामान्य रुपमा सुरु गरेको उद्योगमा अहिले १ करोडभन्दा बढिको लगानी भएको उनी बताउँछन् ।
स्थानिय गाउँका उपजहरु नै लिएर उद्योगमा उत्पादन गरिरहेका छौं, त्यसैले स्वाद लोकल भएकाले बजार लिइरहेको कँडेल बताउँछन् । ‘माग बढ्दै गएको छ, अहिले सबै उत्पादन बागलुङ बजारमा खपत हुन्छ, बेनी, कुश्मा र मुस्ताङसहित नेपालका विभिन्न भागबाट पनि माग आएकाले हामीले विस्तारै पठाउन थालेका छौं,’ उनले भने ।
१२ जना कामदार रहेको उद्योगमा अहिले लकडाउनको समयमा पनि ८ जनाले निरन्तर काम गरिरहेका छन् । अहिले बागलुङ, पोखरा र काठमाडौंका डिपार्टमेन्टल स्टोर्समा मनसुनका उत्पादनहरु देखिन थालेका छन् । विशेषगरि भुटेको मकैको नेपालभर माग बढ्दै गएको छ ।
कँडेलको यो सफलता त्यति सहज भने भएन ।
उद्योग राम्रोसँग चलिरहेको र बजार बढ्दै गैरहेको बेला २०७२ पुष ७ गते विद्युत सर्टभै उद्योगमा आगलागी भयो । उद्योग पूर्ण रुपमा क्षति भयो । ७० लाखभन्दा बढिको क्षति भएपछि कँडेल आफैमा विक्षिप्त भए । माछापुच्छ«े बैंकबाट २० लाखको ऋण लिएका थिए । ऋण लिँदा उद्योगको बीमा गरिएको थियो । त्यसैले उनलाई बीमाबाट केहि राहत हुन्छ भन्ने आशा पलायो ।
प्रुडेन्सियल ईन्स्युरेन्सबाट बीमा गरेका कँडेलले आगलागीबाट पूर्ण क्षति भएको उद्योगका लागि बीमा रकम पाउनलाई समस्या हुँदै गयो । उनले फेरि ऋण खोजेर र आफुसँग भएको थप पैसाले डेढ महिनामा नै अर्काे ठाउँमा उद्योग सञ्चालन गरे । यता, बीमा कम्पनीले क्षतिको रकम दिन मानेन् । उनले मुद्धा हालेर मुद्धा लड्न थाले ।
भिडियाे
‘उद्योग पूर्ण रुपमा क्षति हुँदा पनि बीमा कम्पनीले क्षतिवापतको रकम नै दिन खोजेन्, न त यो विषयमा बैंकले नै सहयोग गर्यो,’ कँडेलले भने । ‘फेरि उठ्न त थियो त्यसैले नयाँ ठाउँबाट फेरि शून्यबाट सुरु गरे, पहिलाको बजार च्यानल भएकाले सहज रुपमा फर्कन समय लागेन् ।’
उद्योग सुरु गरेर उत्पादन थालिरहेका कँडेल बीमा समितिसँग मुद्धा पनि लड्दै थिए त्यहि बेला फेरि उनलाई ब्लड क्यान्सर भयो । नेपाल र भारतमा उपचार गर्दा उनको धेरै पैसा सकिसकेको थियो । उनी उपचारमा हुँदा उनका स्टाफले उद्योग चलाइरहेका थिए । उद्योग एकदिन पनि बन्द भएन । उनको उपचार सफल भयो उनी फर्के त्यहि बेला बीमा कम्पनीले ७० लाख क्षति भएको उद्योगका लागि १ लाख ९६ हजार स्वीकृत भयो भनेर रकम दियो । उनले एकदमै थोरै रकम दिएको भन्दै लिन मानेनन् तर, आगलागी र उपचारपछि रकम अभावले उनले त्यो रकम लिए । तर, मुद्धा उनले झिकेका छैनन् ।

७० लाख क्षति भएको उद्योगमा पोलिसी छैन भनेर पहिला पैसा दिन खोजिएन पछि १ लाख ९६ हजार दिइयो, पोलिसी छैन भने किन १ लाख ९६ हजार दिइयो, बीमा कम्पनीले दुख मात्र दिएको उनी बताउँछन् ।
कँडेल जति दुख भएपनि मिहिनेतका साथ अगाडि बढ्ने हो भने सफलता हात पर्ने बताउँछन् । अहिले मनसुनका उत्पादनहरुलाई नेपाल भरका बजारमा पुराउनका लागि नेटवर्क अध्ययन गरिरहेका कँडेलले सानो ठाउँ र सानो उद्योग भनेर नहुने उत्पादन राम्रो भयो भने जहाँ भएपनि बजार लिने बताउँछन् ।