काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा 'नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण' विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ।
कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायी नेतृत्व, नीति विज्ञ र उद्योगीहरूलाई एकै ठाउँमा ल्याएको थियो। छलफलमा नेपालको वित्तीय र कानुनी ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको थियो।
छलफलका प्यानलिस्टहरूमा उद्योग, वाणिज्य तथा आपूर्ती लगायतका विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका पूर्वमन्त्री अनिल कुमार सिन्हा र पूर्वअर्थमन्त्री रामेश्वर प्रसाद खनाल सहभागी थिए। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत सहभागी भएको कार्यक्रमको सहजीकरण सीएनआईवाइईएफकी उपाध्यक्ष निदा दून मल्लले गरेकी थिइन्।
कार्यक्रममा सीएनआईवाइईएफका अध्यक्ष मनिष श्रेष्ठले वर्तमान आर्थिक अवस्थाको सही विश्लेषण गर्नुपर्नेमा जोड दिए। 'भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ। अनुभवी नीति निर्माता र युवा उद्यमीहरूको उर्जाबीचको दुरी मेटाउन मन्च सधैं प्रतिबद्ध छ,' उनले भने।
छलफलमा संघीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे गम्भीर विमर्श गरिएको थियो। प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले तरलता, नीतिगत स्थिरता र लगानीको वातावरणका विषयमा प्यानलिस्टसँग जिज्ञासा राखेका थिए।
प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले तरलता, नीतिगत स्थिरता र लगानीको वातावरणका विषयमा जिज्ञासा राखेका थिए। कार्यक्रमको औपचारिक समापन मन्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले गरे। उनले विज्ञहरुको अमूल्य योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे।