काठमाडौं। नेपाल उद्योग वाणिज्य महासघ (एफएनसीसीआई) अध्यक्ष अन्जन श्रेष्ठले गरेको निर्णयमा उच्च अदालत पाटनले तत्कालका लागी ब्रेक लगाएको छ। ८ गते तय गरेको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन तत्कालका लागि रोक्न अल्पकालिन आदेश दिएको छ।
अध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन नगरी सदस्यहरु मनोनयन गर्न थालेको भन्दै पूर्वउपाध्यक्ष किशोर कुमार प्रधानसहितले अदालतमा मुद्दा दायर गरेका थिए।
मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश श्रीधरा कुमारी पुडासैनी को एकल इजलासले मुद्दा नं ०८२-१९२८ मा प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। निवेदक पक्षका तर्फबाट अधिवक्ता लेखनाथ पौडेलले बहस प्रस्तुत गरेका थिए।
अदालतले निवेदनमाथि थप सुनुवाइ आवश्यक देखिएको भन्दै विपक्षीहरूलाई 'किन आदेश जारी हुन नपर्ने हो?' भन्ने आधार र प्रमाणसहित लिखित जवाफ दिन निर्देशन दिएको छ।
यसैबीच, निवेदकले माग गरेको अन्तरिम आदेशको विषयमा अदालतले दुवै पक्षलाई समेटेर छलफल गर्नुपर्ने ठहर गरेको छ। अदालतले अन्तरिम आदेशसम्बन्धी छलफलका लागि २०८३ जेठ ७ गतेको मिति तोकेको छ।
त्यस अवधिसम्मका लागि महासंघको २०८३ जेठ १ गतेको पत्राचार तथा २०८३ जेठ ८ गतेका लागि तय गरिएको बैठक यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ।
उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम जारी गरिएको उक्त अल्पकालीन अन्तरिम आदेशको जानकारी विपक्षीहरूलाई गराउन अदालत प्रशासनलाई निर्देशन दिइएको छ।
