काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)सूचीकृतमध्ये १०१ कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार अधिकांश कम्पनीको नाफा गत वर्षभन्दा २३७.५८ प्रतिशतले बढेको हो।
विवरणअनुसार नेप्सेमा सूचीकृतमध्ये १०१ कम्पनीले ७ अर्ब ९२ करोड ९३ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा गत आव २०८१/८२ को सोही अवधिको तुलनामा २३७.५८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको ९ महिनामा हाइड्रो कम्पनीले २ अर्ब ३४ करोड ८९ लाख १ हजार रुपैयाँ नाफा कमाएका थिए।
विवरणअनुसार साहस ऊर्जाले सर्वाधिक नाफा आर्जन गरेको छ। कम्पनीले १ अर्ब १८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको हो। कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिमा ९० करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो।
त्यस्तै, दोस्रोमा रहेको सोलु हाइड्रोपावरले ८५ करोड ८१ लाख, अपि पावरको ६५ करोड ८५ लाख, माउन्टेन इनर्जीको ५२ करोड ७६ लाख, ग्रिन भेन्चर्सको ४९ करोड ४४ लाख, चिलिमे हाइड्रोपावरको ४५ करोड ६९ लाख, राधी विद्युतको ३२ करोड ३९ लाख र बुटवद पावरको २९ करोड ९९ लाख रुपैयाँ रहेको छ।
२२ वटा हाइड्रो कम्पनीको नाफा भने ऋणात्मक छ। सबैभन्दा बढी नोक्सानीमा रहेको रसुवागढी हाइड्रोपावर १ अर्ब २३ करोड ९६ लाख ऋणात्मक रहेको छ।
यस्तै, भिजन लुम्बिनी ऊर्जा १० करोड ५ लाख, त्रिशूली जलविद्युत् ९ करोड ४० लाख, हिमाल दोलखा ९ करोड १६ लाख, हिमस्टार ऊर्जा ७ करोड ३ लाख, शिवश्री ६ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ।