काठमाडौं। वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार करिब ७४ प्रतिशत मलेसियाली उपभोक्ताले किनमेल प्रक्रियामा सहयोग लिन कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गर्ने गरेका छन्।
‘एडयेन इन्डेक्स २०२६ मलेसिया रिटेल रिपोर्ट’का अनुसार उपभोक्ताले उत्पादन खोज्न, विकल्प तुलना गर्न र किनमेलसम्बन्धी सुझाव लिन एआईको प्रयोग बढाउँदै लगे पनि ५२ प्रतिशतले एआईमार्फत आफ्नोतर्फबाट खरिद प्रक्रिया पूरा गर्न भने सहज महसुस नगरेको बताएका छन्।
एडयेन मलेसियाका कन्ट्री म्यानेजर ली सुन यिनले एआई आधारित किनमेलको विस्तारमा ‘विश्वास’ अझै प्रमुख चुनौती रहेको बताए। 'उपभोक्ताले उत्पादन खोजी, तुलना र सुझावका लागि एआई प्रयोग गरिरहेका छन्, तर एआईमार्फत हुने कारोबारलाई व्यापक रूपमा स्वीकार गर्न विश्वासको पक्ष अझै महत्वपूर्ण छ,' उनले भने।
ली सुनका अनुसार उपभोक्ताको प्रमुख चासो व्यक्तिगत तथ्यांकको सुरक्षा मात्र नभई उत्पादनको गुणस्तर, ग्राहक सेवा र बिक्रीपछिको सेवासँग पनि सम्बन्धित छ। सर्वेक्षणले भुक्तानी सुरक्षाले पनि उपभोक्ताको विश्वासमा महत्वपूर्ण प्रभाव पार्ने देखाएको छ। करिब ५९ प्रतिशत उपभोक्ताले भुक्तानीसम्बन्धी त्रुटिले कुनै ब्रान्डप्रतिको उनीहरूको धारणा नकारात्मक बनाउन सक्ने बताएका छन्।
त्यस्तै, २६ प्रतिशत उत्तरदाताले भुक्तानीमा समस्या आएपछि खरिद प्रक्रिया रद्द गर्ने तथा सम्बन्धित बिक्रेता कहाँ पुनः नजाने बताएका छन्। एडयेनले सार्वजनिक गरेको उक्त प्रतिवेदनले एआईको बढ्दो प्रयोगसँगै डिजिटल किनमेलमा उपभोक्ताको विश्वास र सुरक्षा सुनिश्चित गर्नु व्यवसायका लागि मुख्य चुनौती बनेको देखाएको छ।